काठमाडौं- नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ।
काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डिला संग्रौला र सरिता प्रसाईंलाई तोकिएको छ।
यसैगरी ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन्। भक्तपुरका २ क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि बनेका छन्।
पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी गर्ने र कार्यकताई प्रशिक्षित काम गर्नेछन्। कांग्रेस सडकमा जानुपर्नाको कारण कार्यकर्तालाई जानकारी गराएर क्षेत्रबाट बढीभन्दा बढीलाई विरोध प्रदर्शनमा उतार्ने कांग्रेसको योजना छ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो। काठमाडौंपछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने भएको छ।