बिहीबार, पुस १०, २०८२

महेन्द्रनगरका अवैध संरचना धमाधम हटाइँदै

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ।

National life

भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर/टहरालगायत संरचना हटाउने कार्य भइरहेको भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष सुशील भट्टले जानकारी दिए। लामो समयदेखि महेन्द्रनगर नगर विकास समितिको बजार क्षेत्रका जग्गा भाडामा दिएर मिलेमतोमा बनाइएका पक्की संरचना हटाउने काम भइरहेका उनले बताए।

'विगत पाच दिनदेखि नगरपालिकाबाट डोजर लगेर अवैध संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लागिपरेका छौँ', उनले भने, 'यो अवधिमा बजार क्षेत्रमा बनेका डेढ सय भन्दा बढी घर, अधुरा संरचना हटाएका छौँ।'

वडाध्यक्ष भट्टले दोस्रो चरणमा बसपार्कलगायत स्थानका अवैध व्यापारिक संरचना हटाइने योजना रहेको बताए। ती संरचना खाली गर्न नगरपालिकाले मंगलबार सात दिने सूचनासमेत जारी गरिसकेको छ।

यसअघि पनि अवैधरूपमा बनाइएका संरचना भत्काउन स्थानीय प्रशासनले पहल गरेको थियो। त्यसविरुद्ध व्यापारीहरू सर्वोच्च अदालत गएका थिए। अदालतले उनीहरुको रिट खारेज गर्दै महेन्द्रनगर नगरविकास समितिका केही पूर्वअध्यक्ष तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याएपछि स्थानीय सरकारलाई अवैध संरचना हटाउने बाटो खुलेको हो।

Laxmi sunrise bank
kumari

'रिट खारेज भएकाले पनि जग्गा खाली गर्न सूचना र समय दिएका छौँ', भट्टले भने, 'तोकिएको समयावधिमा खाली नगरे हामी आफैले थप प्रक्रिया अगाडि बढाउँछौँँ।'

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अभियानकै रूपमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य भइरहेको बताए। 'अन्य ठाउँमा भन्दा भीमदत्तमा सरकारी सम्पत्ति अतिक्रमण बढी भएको पायौँ। अहिले सबैको सहयोग र सहकार्यमा दैनिकरूपमा अवैध संरचना हटाउने काम भइरहेको छ',अधिकारीले भने।

यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले जिल्लाभर सरकारी सम्पत्तिको संरक्षण गर्दै अतिक्रमण हटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बेल्डाडी गाउँपालिका र बेलौरी नगरपालिकाले पनि अतिक्रमण खाली गराउने काम छिटपुटरूपमा गरिरहेको छ। रासस

प्रकाशित: May 22, 2024| 19:31 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्