आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा

सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- मिडिया मालिकहरुको साझा संगठन मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे।

मिडिया सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै सिरोहिया पक्राउको निन्दा गरेको हो। कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका उनले व्यक्त गरे।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ। उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ। पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला। त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ। सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं। देउवाको, नेपालको पनि खोजौं। हामीले खोजौं न। कसरी बदल्नुभएको रहेछ। के प्रक्रिया अपनाउनुभएको रहेछ। पक्राउ गरिएको रहेछ कि रहनेछ।’

उनले नागरिकतामा विवरण फरक परेको भए सच्याउन मिल्ने बताए। पक्राउ पुर्जिपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिनेमा मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ।

सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ।’

प्रकाशित: May 22, 2024| 10:37 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्