काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुईवटा घर छन्।
जनकपुरमा श्रीमती जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घरघडेरी छ। त्यस्तै, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धुनषाको घरघडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।
पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।
त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।
रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ।
उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ। सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।
पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख कित्ता सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ। यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ।
महासेठले आफूसँग कुनै सवारीसाधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।