काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई भेट्न थापाथलीस्थित कार्यालयमा पुगेका छन्।
दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि कांग्रेसका झण्डै दुई दर्जन नेताहरू थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा पुगेर सिरोहियासँग संवाद गरेका छन्।
थापाथली पुग्नेमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउद, सांसदहरू दीपक गिरी, वीरबहादुर बलायर, प्रतिमा गौतम, रामनाथ अधिकारी, राजु थापा, चन्दा चौधरी र राजेन्द्र बजगाईंलगायत छन्।
आजको प्रतिनिधि सभा बैठकमा समेत कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय उठाएका थिए।
‘अहिले भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु। कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहँदैन त्यो पनि म दोहोर्याउन चाहन्छु,’ उनले भने।

यसैबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोधबाट आफू विचलित नहुने बताएका छन्। आफूविरुद्ध कीर्ते मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरविरुद्ध यसअघि समेत हस्तक्षेप भएको बताउँदै आफू व्यक्तिगत रूपमा जुनसुकै मूल्य चुकाउन पनि तयार भएको बताएका हुन्।
‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु,’ सिरोहियाले भनेका छन्, ‘तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन।’
