काठमाडौं- पशुपतिनाथको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले दुई-तीन महिनादेखि आफूहरूले भेटी चोरी गर्दै आएको बयान प्रहरीसमक्ष दिएका छन्।
पक्राउ परेका अनिल परियारले प्रारम्भिक बयानमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफूलाई भेटी संकलन गर्ने ठाउँमा काम गर्ने जिम्मा लगाएको बताएका छन्।
‘मान्छे थिएन अनि कोषाध्यक्षज्यू हुनुहुन्छ नि ! उहाँले केही पर्दैन काम गर भन्नुभएको थियो। कागज पनि आउँछ भन्नुभएको थियो। कागज चाहिँ आएको थिएन,’ उनले पक्राउ परेपछि भनेका छन्। आफूहरूले चोरी नगर्ने भने पनि नवराज ढोढारीले भने बोलाएर चोरी गर्न लगाएको उनले बताएका छन्। दुई-तीन महिनादेखि चोरी गर्दै आएको उनले सुनाए।
‘हामीले त नगर्ने भनेका हौं। तर हाकिम साबले फोन गरेर बोलाउनुभएको हो। नवराज ढोडारी। यस्तो काम नगर्ने भनेको तर गर् गर् भन्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरूले कति लिनुहुन्छ हामीलाई भन्नुहुन्न। मलाई १०००-१५०० पाउँछु। दिनकै लैजान्छु। मैले लाँदा गन्दै गन्दिनँ। १०-१२ हजार लग्छौं। उनीहरूले छुट्टाएर दिन्छन्। दुई तीन महिना जस्तो भयो। काम नगर्ने भनिरहेका थियौं तर केही हुँदैन केही हुँदैन भनेर नवराज ढोडारी सरले भनेका थियौं।’
भेटी संकलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका थिए। चोरी गर्नका लागि उनले ज्याकेट लगाएर आउन भनेर भन्ने गरेको परियारले बताएका छन्। पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ। प्रहरीले पक्राउ परेकाहरुसँग आधिकारिक बयान लिएको भने छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ। संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै रहेको बैंकमा जम्मा गर्ने गर्छन्।
पशुपतिमा भक्तजनले चढाएको भेटी गन्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। सोमबार साँझ सांस्कृतिक संरक्षण महाशाखाको भेटी गणना कक्षामा पदाधिकारी, सुरक्षाकर्मीको संलग्नमा भेटी गन्ने काम भइरहेको थियो। सिसिटिभीमा शंकास्पद गतिविधि देखिएपछि कोषका कर्मचारीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।