शनिबार, असोज ४, २०८२

दश महिनामा पौने १२ खर्ब व्यापार घाटा

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

Kumaribank

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो।

विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ। यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा भारतसँग नेपालले रु सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट रु आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु ८६ अर्बको निर्यात भएको छ। नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ। दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। यो अवधिमा रु एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल रु ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ। सोही अवधिमा रु २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ।

Metro Mart

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु आठ अर्ब ७९ करोड, अलैंची रु छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु पाँच अर्ब ५२ करोड र पाम आयल रु पाँच अर्ब ६० करोड बराबर छ।

प्रकाशित: May 20, 2024| 17:33 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्