आइतबार, असार ७, २०८३

काभ्रेका १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ। तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो।

National life

विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रुपमा खोप लगाइने जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख रागीश्री कक्षपतिले जानकारी दिइन्। उनका अनुसार खोप अभियान विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई भने समेट्न ठूलो चुनौती छ।

कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लास्थित १३ स्थानीय तहका १७ हजार सात सय ५९ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार विद्यालयमा सञ्चालित खोप केन्द्रका लागि दुई सय ६१ खोपकर्मी र पाँच सय ११ शिक्षकलाई अनुशिक्षण गरिसकिएको छ। 

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिलाई खोपका बारेमा अभिमुखीकरण गराउने कार्यक्रम सुरु गरिएको छ। 

Shivam cement

कार्यालयका अनुसार एलर्जी हुने, सिकिस्त बिरामी भएका तथा उक्त अवधिबाहेकमा जन्मिएका बालबालिकालाई भने उक्त खोप लगाउन हुँदैन। यसबाहेक पाँच वर्षमुनिका अन्य बालबालिकालाई भने नियमित लगाइने खोपमा नै पोलियोविरुद्धको खोप दिइँदै आइएको छ। 

मुखबाट खुवाइने पोलियोविरुद्धको खोप (ओपिभी)को परिपूरकका रुपमा विसं २०७१ असोजदेखि नेपालमा सुईबाट लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) लगाउन सुरु गरिएको थियो। पाँच वर्षमुनिका बालबालिका जसको प्रतिरोध क्षमता शक्तिको राम्रो विकास भइसकेको हुँदैन तिनमा पोलियोको जोखिम बढी हुन्छ। यस्तै पोलियो लागेमा पक्षघातसम्मको गम्भीर जोखिम हुनसक्छ। 

‘पोलियो लाग्नुको मुख्य कारक ‘पोलियो’ नामक भाइरस नै हो। पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ र यो सामान्यतः एक व्यक्तिबाट अर्कोमा सङ्क्रमित व्यक्तिको दिसाबाट फैलन्छ। सिँगान, थुक र र्‍यालबाट पनि यो रोग फैलन सक्छ। जन्मदेखि एकपटक पनि पोलियो खोप नलिएका वा पोलियो थोपा(खोप) पूरा मात्रामा नलिएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन्’, खोप अधिकृत न्यौपानेले भने।

प्रकाशित: May 18, 2024| 16:31 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्