काठमाडौं-झण्डै पाँच महिनापछि बसेको स्थायी कमिटीको बैठकमा आन्तरिक विवाद चर्किएको छ। सोमबारको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका थिए ।
सोमबारको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा धारणा राख्ने १० स्थायी कमिटी सदस्य मध्ये नौ जनाले अध्यक्षविरुद्ध नै आवाज उठाएका थिए ।
बैठकमा प्रस्तुत भएको प्रतिवेदनका विषयमा धारणा राख्न प्रत्येक सदस्यहरुलाई २० मिनेटको समय दिइएको थियो । सोमबार १० जनाले आ आफ्नो धारणा राखेका थिए। ती मध्ये नौले पार्टी नेतृत्व बिधि सम्मत नचलेको सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका थिए।
बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्ने भन्दै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्नसक्ने खतरा औंल्याए ।
बैठकमा धारणा राख्ने नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटाले भने अध्यक्ष प्रचण्डको बचाउमा थिए । उनीहरुले सरकारको कार्यशैलीका विषयमा मात्र आलोचना गरेका थिए ।
यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिएका थिए ।
सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली तथ्यमा भन्त्दा कुतर्कमा बढि गएको आरोप लगाएका थिए। ‘यो पनि गरेँ भनेको छ त्यो पनि गरेँ भनेको छ तर काम केही भएको छैन’गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो। उनले पार्टीलाई बिधि र विधान सम्मत संचालन गर्न नसकेको भन्दै यदि अहिलेकै तारिकाले अगाडि बढे विनासको बाटोमा जाने चेतावनी दिए ।
यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागी ती नेताले जानकारी दिए ।
‘बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरुले दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमा असन्तुटि जनाएका थिए। । पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश उनीहरुको थियो ।
बैठकमा बोल्ने नेताहरुले वामदेव गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी यसको उद्देश्य राम्रो नभएको टिप्पणी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४