काठमाडौं- प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्काले हडपेको नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा प्रशासनले ताला लगाएर शिलबन्दी गरेको छ।
नेपाल स्काउट केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधि पुगेर शिल गरेको हो। सो जग्गामा खड्काले लैनचौर बैंक्वेट सञ्चालन गरिरहेका छन्।
कांग्रेस सांसद खड्काले स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा गरेको विषयमा मिडियामा समाचार आएपछि प्रशासनले चासो देखाएको हो। स्काउटको जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा उठाइरहेका थिए। स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई यसअघि सरकारले हटाउन सकेको थिएन।
स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो। अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गरेको थियो।