आइतबार, भदौ २३, २०८१

nespernesper

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहानी कक्षा

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

पर्सा- वीरगञ्ज आसपासका क्षेत्रमा चर्काे गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन्। गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसुस गरेका छन्।

triton college

बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरुको भने उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले  जनाएका छन्।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बलिरामपुरका प्रधानाध्यापक (प्रअ) चन्देश चौहानले दिउँसोको समयमा चर्को गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताए। ‘उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो’, उनले भने, ‘बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ।’ प्रअ चौहानले गर्मीयामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि विस्तारै सुधार हुँदै आइरहेको बताए। नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन्।

‘केही समयअघिसम्म तराई–मधेसको मौसम ससाना बालबालिकाको लागि सुहाउँदो खालको थिएन। चर्को गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो’, उनले भने, मङ्गलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ। तर यो अवस्था सधैँ रहँदैन। त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ।’
    
विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो। नेपाल रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउँछन्। ‘हाम्रो विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र भएकाले पनि नियमितरुपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘कक्षा १२ को परीक्षा आजदेखि सकियो। अब भोलिदेखि नियमितरुपमा बिहानको कक्षा सञ्चालन गर्नेछौँ।’ 

प्रअ रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताए। ‘चर्को गर्मीसँगै बिहान १० देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो। यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ’, उनले भने, ‘विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ। जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ।’

Metro Mart
vianet

वीरगञ्ज महानगरपालिका नगरशिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो। सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ। 

महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ। महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन्। एउटा पूर्वप्रथामिक विद्यालय पनि छ। गत शैक्षिकसत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए। गत शैक्षिकसत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए। यो वर्ष गत आवभन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ।

प्रकाशित: May 08, 2024| 19:35 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्