आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • भिजन पेपरअनुसार सबैसँग सहकार्य गरेर अघि बढ्छुः प्राडा विजुकुमार थपलिया [उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय]

Siddartha premir insuranceSiddartha premir insurance

भिजन पेपरअनुसार सबैसँग सहकार्य गरेर अघि बढ्छुः प्राडा विजुकुमार थपलिया [उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय]

 |  शुक्रबार, वैशाख २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलियालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

triton college

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा छनोट तथा सिफारिस समिति गठन गरिएको थियो। समितिले दरखास्त माग गरी आवेदकहरुबाट कार्ययोजना, सोचपत्र र अन्तर्वार्ता गरी तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपतिसमक्ष सिफारिस गरेको थियो। विज्ञ समूहले कार्ययोजना तथा सोचपत्रको मूल्यांकन गरी नाम छनोट गरेको हो। सिफारिस भएको प्राथमिकताकै आधारमा उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति थपलिया सो विश्वविद्यालयमा साढे दुई दशकदेखि आवद्ध छन्। नर्वेबाट उच्च शिक्षा हासिल गरेका प्राडा थपलिया छनोट समितिसमक्ष आफूले प्रस्तुत गरेको भिजन पेपरकै आधारमा सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउँछन्। विश्वविद्यालयको साख उच्च राख्दै प्रतिस्पर्धी शिक्षा प्रदान गर्नमा आफ्नो ध्यान केन्द्रित रहने उनले बताए। नियुक्तिलगत्तै नेपाल समयले थपलियासँग संक्षिप्त कुराकानी गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने विषयहरु के–के छन् ?
म २५ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयमा आवद्ध छु। यो साढे दुई दशकमा मैले विश्वविद्यालयलाई चिनेको छु। यसका सबल तथा कमजोर पक्षहरु पहिचान गरेको छु। स–साना कुराहरु सुधार गर्दा पनि कहिलेकाहीँ परिणाम ठूलो आउँछ। कार्यभार सम्हाल्नेबित्तिकै म काममा लाग्नेछु। उपकुलपति छनोटका क्रममा मैले प्रस्तुत गरेका कार्ययोजना कार्यान्वयनमा मेरो प्रतिबद्धता छ।

पहिलो कुरा शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने छ। समयमा परीक्षा नहुने, रिजल्ट नआउने समस्या अहिले पनि विश्वविद्यालयमा छ। यो कुरालाई मैले ध्यान दिनेछु। 

Metro Mart
vianet

अर्को कुरा अहिलेका युवाको चाहना र आवश्यकता अनुसार कार्यक्रमहरु ल्याउनु पर्नेछ। हामीसँग इनोभेटिभ प्रोग्रामहरु नभएका होइनन् तर समय अनुसार नयाँ नयाँ कार्यक्रमहरु पनि ल्याउनुपर्ने हुन्छ। विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेर रायसुझाव लिएर कार्यक्रमहरु तर्जुमा गरिनेछ।

तेस्रो कुरा रिसर्चमा ध्यान दिनु पर्नेछ। विश्वविद्यालयको काम नै नयाँ नयाँ विषयमा रिसर्च गरेर नयाँ ज्ञानको अन्वेषण गर्नु हो। त्यसमा पनि मेरो ध्यान रहनेछ। अहिलेका विद्यार्थीलाई कन्टेन्ट मात्र दिएर पुग्दैन। उनीहरुलाई नयाँ कुरा सिक्नु छ। क्लासमा मैले नयाँ कुरा के सिक्न पाउँछु भन्ने अपेक्षा विद्यार्थीमा हुन्छ। त्यसैले शिक्षक पनि अपडेटेड हुनुपर्छ, रिसर्च गर्नुपर्छ। विश्वविद्यालयको एकेडेमिक हाइट बढाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा मैले बुझेको छु। यसमा मेरो विशेष ध्यान जानेछ। मैले आफ्नो भिजन पेपरमा पनि यो कुरा उल्लेख गरेको छु। 

नियुक्त भएपछि कुलपति अर्थात् प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो। उहाँको भिजनचाहिँ के रहेछ विश्वविद्यायल सुधारको बारेमा ?
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार तीन वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुसँग भेट गर्नुभएको थियो। आफ्नो योजनाअनुसार प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त हुन सकेकोमा उहाँ खुसी र आशावादी हुनुहुन्छ। राजनीतिक भागवण्डाका आधारमा नियुक्ति हुँदा राम्रो काम हुन नसकेको जनगुनासो रहँदै आएको थियो। प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उहाँले उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ।

योग्यताका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको उहाँले प्रष्ट पार्नुभयो। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूसँगको भेटमा उहाँले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभयो। मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पनि प्रा डा नै हुनुहुँदो रहेछ। विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न कुलपतिको स्पष्ट निर्देशन छ।

विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा जिम्मेवारी दिन सुरु गरिएकाले यसको परिणाम पनि प्रभावकारी आउनेमा उहाँ आशावादी हुनुहुन्छ। यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला भन्नुभएको छ। विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उहाँको निर्देशन छ।

उहाँले केही समयअघि त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा सबै विश्वविद्यालयको कुलपति प्रतिस्पर्धाबाट नियुक्त गर्ने घोषणा गर्नुभएको थियो। त्यहीअनुसार त्रिविसहित चार वटा विश्वविद्यालयमा कुलपति नियुक्त भएका छन्। यो नै एउटा महत्वपूर्ण कुरा हो। शिक्षामन्त्रीको कुरा पनि यही छ। यो पद्धतिबाट नियुक्ति गर्दा कस्तो परिणाम आउँछ हेर्छौं भन्नुभयो उहाँले। तलसम्म पनि मेरिटोक्रेसीकै आधारमा नियुक्तिहरु गर्नुस् भन्ने उहाँको निर्देशन छ। 

विश्वविद्यालयसँग राम्रा कार्यक्रम नै नभएका हुन् कि भएर पनि प्रचारप्रसार हुन नसकेको हो ?
हामीसँग राम्रा राम्रा कार्यक्रमहरु छन् तर यसबारे विद्यार्थी तथा अभिभावकहरुलाई राम्रोसँग जानकारी गराउन सकिएको छैन। स्वदेशमा राम्रो शिक्षा नभएको भन्दै दैनिक झण्डै दुई हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेश गइरहेका छन्। स्वदेशमै गुणस्तरीय उच्च शिक्षा दिन सके उनीहरुलाई रोक्न सकिन्छ। यसमा सरकारसँगै विश्वविद्यालय, कलेज र सबै सरोकारवाला लाग्नुपर्छ। विश्वविद्यालयको इमेज खस्किँदो अवस्थामा छ, यसलाई कसरी माथि लैजाने भनेर गम्भीरतापूर्वक काम गर्नुपर्ने मैले देखेको छु। 

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १५४ क्याम्पस छन्। यीमध्ये आंगिक ९ वटा हुन् भने बाँकी सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पस हुन्। सात वटा फ्याकल्टी छन्। यसअन्तर्गत अन्डरग्राजुएट, मास्टर्स र पीएचडी गरी ८१ वटा कार्यक्रम सञ्चालनमा छन्। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा पूर्वाञ्चल विश्वविद्यालय स्थापना भएको हो। विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको गोठगाउँमा छ। विश्वविद्यालय अन्तर्गत हाल २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: May 03, 2024| 11:51 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्