शनिबार, पुस १२, २०८२

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

नवलपुर- नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए। बढ्दो गर्मी, तातो हावासँगै चालु आर्थिक वर्षमा एक सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको उनले बताए।

National life

‘नवलपुरमा ८० प्रतिशतभन्दा बढी सामुदायिक, मध्यवर्ती, कबुलियतीलगायतका समुदायमा आधारित वन छन्, तीमध्ये एक सयभन्दा बढी सामुदायिक वनका दुई हजार पाँच सय ५३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। अहिलेसम्म मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेका वन सबैभन्दा बढी  प्रभावित भएका छन्’, लम्सालले भने।

सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले वन डढेलोका कारण जङ्गलको बीचमा र जङ्गलनजिक रहेका गाउँहरू जोखिम रहेका बताए। मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढ्दै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ।

‘डढेलो लगाएपछि वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढीमात्रामा जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ। यस्तो सोचाइमा परिवर्तन ल्याउनका लागि राज्यलगायत सबै सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ’, पौडेलले अगाडि भने।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले पनि मानवीय लापरवाहीका कारण वन डढेलोका घटना बढिरहेकाले त्यस्ता प्रवृति निरुत्साहित गर्न जरूरी रहेका बताए।

Laxmi sunrise bank
kumari

पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएकाले स्याउला र माटोकै भरमा वन डढेलो निभाउनुपर्ने बाध्यता रहेकाले पनि नियन्त्रणमा चुनौती रहेका वन अधिकृत लम्सालको भनाइ छ।

नागरिकतहसम्म सचेतनाका कार्यक्रम लिएर जाने, अग्निरेखा बनाउने, गर्मी मौसम सुरू हुनुअघि नै जङ्गलका पातपतिङ्गर झिक्नसके डढेलाका घटनामा कमी ल्याउन सकिने स्थानीयको भनाइ छ।

प्रकाशित: Apr 28, 2024| 16:45 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्