शनिबार, पुस १२, २०८२

बेमौसमी तरकारीमा विषादीको अवशेष

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

राँझा- नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ। भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिए।

National life

‘यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको सागमा विषादीको अत्याधिक मात्रा देखिएको छ’, उनले भने ‘दैनिक रुपमा नमुना परीक्षण गर्ने क्रममा रायो भाजीको सागमा खाना अयोग्य हुने गरी विषादीको अवशेष भेटिएको थियो।’

रानी तलाउ तरकारी बजारमा गरिएको नमुना परीक्षणमा रायो भाजीको सागमा अर्गानोफस्फेटको इन्हिविशन पर्सेन्टेज ९रूकावट प्रतिशत० ४५ प्रतिशतभन्दा बढी पाइएको छ। यो मात्रामा विषादी अवशेष भएको तरकारी खान अयोग्य मानिन्छ।

केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक चौधरीका अनुसार केही नमुनामा रुकावट प्रतिशत ३५ देखि ४५ सम्म भेटिएको छ। यस्तो तरकारीलाई चार/पाँच दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी विषादीको मात्रा कम भए खान हुन्छ। बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिएको प्रयोगशालाको रिपोर्टले देखाएको छ।

पुस माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गर्ने हुनाले बेमौसमी तरकारीमा विषादीको अवशेष देखिने गरेको चौधरीले बताए। विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने उनको भनाइ छ। भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमुना परीक्षण गर्ने गरिएको छ।

Laxmi sunrise bank
kumari

रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिक रुपमा परीक्षण  हुने गरेको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए। नमुना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरेको उनको भनाइ छ। बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: Apr 27, 2024| 21:01 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्