मंगलबार, वैशाख ८, २०८३

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

धुलिखेल- नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन्। पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गर्ने क्रम अगाडि बढाएको हो।

National life

यसैक्रममा रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ। विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए। उनका अनुसार वडा नं १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चेतना माध्यमिक विद्यालय नामकरण गरेको छ।

यस्तै वडा नं २ मा अवस्थित गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय, महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ।

यसैगरी वडा नं ७ मा अवस्थित बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नं ९ मा अवस्थित मङ्गलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मङ्गलेश्वर माध्यमिक विद्यालय भएको छ। त्यसरी गाभिएका विद्यालयमा भने बाल विकास केन्द्र सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।

रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकामा पाँच वटा समायोजन गरी ६४ वटा बनाइएको छ। गाउँ शिक्षा समितिको निर्णयलाई सङ्घीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्यनजर गरी कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ।

kumari

रोशी गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा यहाँका आठ वटा विद्यालयको तह घटाइएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको तह घटाएर कक्षा १ देखि ३ सम्म अध्यापनको अनुमति दिइएको छ। जसमा वडा नं ४ मा अवस्थित थानापति प्रावि, वडा नं ७ मा अवस्थित जनज्योति प्रावि, खाँडादेवी प्रावि, वडा नं ८ मा रहेको खार्ता महादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नं ९ मा रहेको भूमेस्थान प्रावि र वडा नं ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। भौगोलिक अवस्था र विद्यार्थी सङ्ख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेको र केही विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भए पनि भौगोलिक कारण सुधार गर्न अनुरोध गरेको छ।

त्यसैगरी बनेपा नगरपालिका–४ मा रहेको सृष्टकान्त आधारभूत विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयमा समायोजन गरी चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नामकरण गरिएको छ। वडा शिक्षा समितिको निर्णयअनुसार उक्त विद्यालय समायोजन गरेको बनेपा नगरपालिकाले जनाएको छ।

प्रकाशित: Apr 25, 2024| 22:01 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्