शुक्रबार, वैशाख २१, २०८१

हङकङमा अखाद्य पाइएको एभरेष्ट र एमडीएच मसला नेपालमा पनि परीक्षण गरिँदै

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- भारतीय ब्राण्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमुना परीक्षण गरिने भएको छ। नमुना परीक्षणबाट प्राप्त रिपोर्टअनुसार आवश्यक निर्णय लिइने खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले बताएको छ। 

triton college

यी दुई ब्राण्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्तामा पनि चासो र चिन्ता बढेको थियो। दुवै ब्राण्डका विभिन्न मसला नेपाली बजारमा पनि बिक्री भइरहेका छन्। 

हङकङ र सिंगापुरले मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथिलीन अक्साइड पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए। 

बीबीसीका अनुसार परीक्षणका क्रममा करी पाउडर, साम्भर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने एथिलिन अक्साइड पाइएको थियो। एथिलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो। 

हङकङको खाद्य सुरक्षा विभागका अनुसार खाद्य सामग्रीमा एथिलिन अक्साइड प्रयोग गरेको पाइएमा त्यस्ता कम्पनीलाई अधिकतम ५० हजार डलर जरिवाना र ६ महिनासम्म कैदको सजाय हुन्छ। सिंगापुरको खाद्य सुरक्षा विभागले पनि हङकङको सूचनाका आधारमा आफ्नो मुलुकमा एभरेष्ट र एमडीएचका मसला बिक्रीमा प्रतिबन्ध लगाएको छ।

corrent noodles
Metro Mart

एथिलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो। यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा किटनाशकका रुपमा गरिन्छ। मसला उद्योगमा सुक्ष्मजीवले पुर्‍याउने असर र किराबाट मसलामा हुन सक्ने क्षति न्यूनीकरणका लागि यसको प्रयोग हुन्छ।

विभिन्न स्वास्थ्य संगठनहरुले यसलाइ कार्सिनोजेनको वर्गमा राखेका छन्। यो रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुनसमेत बनाएका छन्।

भारतीय मसलाको गुणस्तरबारे यसअघि अमेरिकामा पनि प्रश्न उठेको थियो। सन् २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले साम्भर तथा गरम मसला बजारबाट फिर्ता लान भनेको थियो। ती मसला प्रयोगशालामा परीक्षण गर्दा साल्मोनेला पाइएको थियो। यो ब्याक्टेरियाका कारण डायरिया हुने, पेट दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने तथा उल्टी हुने समस्या उपभोक्तामा देखिएको थियो।

प्रकाशित: Apr 23, 2024| 19:53 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्