शनिबार, वैशाख २२, २०८१

सन्दर्भ: लोकतन्त्र दिवस

यसरी आएको थियो लोकतन्त्र

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- १८औं लोकतन्त्र दिवस आज (मंगलबार) मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह जनतासामु झुकेको दिनको सम्झनामा २०६४ सालदेखि हरेक साल वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ। १७औं लोकतन्त्र दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

triton college

०६२/६३ को आन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको हो। ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए।

नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै-हटाउँदै गरे। उनले आफूले इच्छा गरेअनुसार शासन चलाउन थालेपछि जनआन्दोलनको उभारले नारायणहिटीबाट नागार्जुन पठाएको थियो।

२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन सत्ताको बागडोर सम्हालेपछि आन्दोलनरत सात दल र नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनले चैतमा गति लिएको थियो।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुन:स्थापनाको घोषणा गरी बैठक आह्वान गरेका थिए। सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो।

corrent noodles
Metro Mart

२०५९ साल जेठ ८ मा विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विगतमा सरकारले यस दिन सार्वजनिक बिदा दिने गरेको भए पनि केही वर्षदेखि कटौती भएको छ।

ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो। तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो।

२०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए। काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भएका थिए।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित भयो।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन्। यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

प्रकाशित: Apr 23, 2024| 06:48 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्