शनिबार, पुस १२, २०८२

संरक्षण नहुँदा कालीकोटमा लोप हुने अवस्थामा जडीबुटी

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

मान्म- कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्। कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका हुन्।

National life

जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण बहुमूल्य जडीबुटी दिनप्रतिदिन लोप हुँदै गएका छन्।

पछिल्लो समय कालीकोटमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी, सुगन्धवाललगायतका जडीबुटीको अभाव हुन थालेको खाँडाचक्र नगरपालिका-१ जडीबुटी व्यवसायी अजबहादुर गिरीले बताए।

'कालीकोटमा पाइने जडीबुटीको व्यावसायिक खेतीको अभावका कारणले अहिले लोप हुने अवस्थामा पुगेका छन्', उनले भने, 'प्राकृतिकरुपमा जडीबुटीको दोहन मात्रै भयो। त्यसको व्यावसायिक खेती नहुँदा अहिले समस्या आएको हो।'

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटीहरु संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको रास्कोट नगरपालिका-२ देवीलाल न्यौपानेले बताए। 'गाँउमा दुःखी बिरामी हुँदा पहिले जडीबुटीकै भर थियो। बिरामी पर्दा तिनै जडीबुटीले उपचार गर्ने पद्धति थियो', उनले भने, 'अहिले गाउँगाउँमा मेडिकल आए। भएका जडीबुटी सबै लोप हुन थालेँ।'

Laxmi sunrise bank
kumari

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइने गरेको डिभिजन वन कार्यालय कालीकोटका वन अधिकृत प्रकाश देवकोटाले बताए। 'कालीकोटको जडीबुटीलाई व्यवसायीकरण गर्ने सकिए यहाँको आर्थिक समृद्धिको मुख्य आधार बन्न सक्छ', उनले भने, 'जिल्लाबाट ५१ प्रजातिका जडीबुटीहरु व्यापारिक प्रयोजनामा निर्यात हुने गरेका छन्। जसबाट बर्सेनि २२ लाखदेखि ३० लाख रूपैयाँसम्म राजस्व संकलन हुँदै आएको छ।'

कर्णालीमा यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सीताल्चीनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजोलगायतका प्रजातिका जडीबुटी पाइने गरेको वन अधिकृत देवकोटाले जानकारी दिए।

'संघीय सरकारको जडीबुटी विकास कार्यक्रमअन्तर्गत जडीबुटी खेती विस्तार, खेती क्षेत्र निर्धारण, पकेट क्षेत्र निर्धारण र भण्डारण केन्द्र र प्रशोधन केन्द्र निर्माणका लागि अनुदानका दिँदै आएको छ', उनले भने, 'सरकारले दिएको सुविधा प्रयोग गर्नेभन्दा केबल दोहन गर्ने काम मात्रै भएकाले अहिले लोप हुने अवस्थामा पुगेका छन्।' रासस

प्रकाशित: Apr 18, 2024| 20:01 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्