आइतबार, वैशाख ७, २०८२

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

 |  बिहीबार, वैशाख ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

vianetvianet

बझाङ- भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन्।

triton college

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्छन्। ११ वर्षीय सुशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहेका छन्। उनी भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउँछन्। कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उनलाई प्रायः थाहा भइरहन्छ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जानुहुन्छ। खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मालगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउँन्छन्।

गणेश जोशी क्रिकेटमा लामो सर्ट हान्नसक्ने हुँदा दीपेन्द्रसिंह ऐरीलाई सम्झन्छन्। दीपेन्द्रको खेलबाट प्रभावित भएको बताउने उनले ब्याडिङ गर्दा ‘छक्का दीपेन्द्र’ भन्दै सके जति बल टाढा फाल्ने कोसिस गर्छन्। टिमका सहभागीले पनि दीपेन्द्रको चौका छक्का सुरू भन्दै हुटिङ गर्छन्। त्यसपछि गणेशले सके जति बल ढाढा फाल्छन्।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन्। क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैँले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताए।

National life insurance

“पहिले–पहिले टाइमपास, डण्डिबियो, चुन्नी, आरामविश्राम (खुट्टाले खेलिने) खेल्थ्यौँ। आजभोलि कसले चौका/छक्का हान्छ, कसले विकेट लिन सक्छ भनेर क्रिकेट खेल्न रूचि लाग्छ”, उनले भने।

सुवासका अनुसार गाउँघरमा सबै बालबालिकाको नजरमा क्रिकेट नै हुन्छ। “राति मोबाइलमा क्रिकेट हेर्ने र दिउँसो अभ्यास गर्दैगर्दा क्रिकेटको लत बसेको थाहै भएन”, उनले भने।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन। भरत खत्रीले भने, “हाम्रो पालामा पुरानै खेल खेलिन्थे। अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन्। नेटवर्कले राम्रै काम गर्छ। इन्टरनेट पनि फोरजी चल्न थाल्यो। बालबालिका मोबाइलमै झुम्मिन थाले। सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो। त्यो ठाउँमा देखे। गाउँमा पनि खेल्न थाले।”

खत्रीका अनुसार खप्तडछान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो। “अन्य ठाउँभन्दा पछाडि पिठातोला छ। त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन्। अहिले हेर्दा त नयाँ पुस्ताको मन मस्तिष्कमै क्रिकेट देखिन्छ, उनले भने।

प्रकाशित: Apr 18, 2024| 07:32 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्