काठमाडौं- संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायतका नेताहरू छलफलमा जुटेका हुन्।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। आज पनि कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्नेमा संलग्न रहेकाले छानबिनमा कांग्रेस एकमत रहेको बताए। ‘ सरकारको बहालवालामन्त्री समेत सहकारीका रकम अपचलन गर्नेमा देखा परे। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेजी रकम अपचलनको काममा संलग्न भएकाले विषय उठाइरहेका छौं। त्यसको निष्पक्ष,स्वतन्त्र र विश्वसनीयका निम्ति छानबिन समिति गठनको माग उठाइरहेका छौं।’लेखकले भने,‘कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले गरेको माग उचित छ भन्ने ठहर गरेको छ। कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।’
उनले छानविन नभएर संसद अगाडि बढ्न नसक्ने धारणा राखे। उनले संसद्का कामकारबाही प्रभावित भए सरकार जिम्मेवार हुने उनको भनाइ छ।