आइतबार, पुस १३, २०८२

उपनिर्वाचन: दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

काठमाडौं- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज शनिबार उम्मेदवारी मनोनयन भएको छ। प्रतिनिधि सभाको इलाम-२ र प्रदेश सभातर्फ बझाङ-१ (क) मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको हो।

National life

निर्वाचन आयोगका अनुसार इलाम-२ मा २० जना र बझाङ-१ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकेको थियो। 

राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वर्तमान सत्ता गठबन्धनमै रहेका तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनको माओवादी केन्द्रले भने एमाले उम्मेदवार सुहाङलाई समर्थन गरेको छ। 

यस्तै नेपाली कांग्रेसबाट डम्बर खड्का, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। 

यसैगरी राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार र नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

Laxmi sunrise bank
kumari

उता बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ। उम्मेदवार ढिलो गरी आएपछि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो।

बझाङमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोरकुमार खड्का, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाही र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन्। 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एमाले)का दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र जनमत पार्टीका शुशिला देवी विष्टले उम्मेदवारी दर्ता गराएका छन्।

 इलाममा माओवादीले एमालेलाई समर्थन गरे पनि बझाङमा भने सत्ता गठबन्धनमा रहेका सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।

प्रकाशित: Apr 06, 2024| 19:07 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्