मंगलबार, पुस ८, २०८२

दुई सातामा १० करोड कमायो 'महाजात्रा' ले, भिड्न आयो 'बद्री बहादुर'

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

काठमाडौं- चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन्। ‘बद्री बहादुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ। शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको ‘बद्री बहादुर’ हास्य विधामा आधारित चलचित्र हो। निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गरेका छन्।

National life

“बद्रीबहादुर अहिलेको समाजमा देखिने पात्र हो, जसको भोगाइले मनोरञ्जनसँगै विविध पक्षलाई उजागर गरेको छ, यसले दर्शकलाई केही न केही सन्देश अवश्य दिन्छ”, निर्देशक बस्नेतले भने।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजङ्ग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतका कलाकारले अभिनय गरेका छन्।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। आपत्तकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन्।

“जात्रा शृङ्खलाको मनोरञ्जनसँगै यसपटक राष्ट्रिय विषयलाई जोडेका छौँ, तीन पात्रहरूको जात्रामा कलाकार थपेर यसपटक महाजात्रा गरेका हौँ, चलचित्र हेर्दा मनोरञ्जनसँगै संदेश पनि ग्रहण गर्नु हुनेछ”, निर्देशक भट्टराईले भने।

Laxmi sunrise bank
kumari

चलचित्रमा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको ‘महाजात्रा’ नेपालसँगै विश्वभर व्यावसायिक रुपमा समेत सफल भएको छ।

निर्माता खत्रीले चलचित्रले नेपालमा दुई सातामा १० करोड १५ लाखको कूल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए। उनले भने, “नेपाल मात्र नभई विश्वभर चलचित्र गरिरहेको व्यापारले बजार विस्तार गर्न र बलियो बनाउन टेवा पुग्नेछ, सपरिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याएर खुसी बनाएर पठाउन पाउँदा हाम्रो समूह नै कृतज्ञ छ।”

प्रकाशित: Apr 05, 2024| 16:06 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्