बुधबार, वैशाख १९, २०८१

सूर्यदर्शन सहकारीका बचतकर्ताले बुझाए ओलीलाई ज्ञापनपत्र

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

पोखरास्थित सूर्यदर्शन सहकारीका बचतकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। शुक्रबार पोखरा गएका ओलीलाई सहकारीका बचतकर्ताले दोषीलाई कारबाही गर्दै रकम फिर्ताको मागसहित ज्ञापनपत्र बुझाएका हुन्।

triton college

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गरेर निस्कने क्रममा पोखरा सभागृहमा बचतकर्ताको तर्फबाट सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले ओलीलाई ज्ञापनपत्र बुझाएका थिए। सहकारीका अध्यक्ष जिबी राईलाई पक्राउ गरी न्याय दिलाइदिन ओलीलाई ज्ञापनपत्र बुझाएको संयोजक श्रेष्ठले बताए। ‘सहकारीका सञ्चालक जीबी राई भन्ने व्यक्तिको विषयमा सिंगो राज्य, प्रहरी प्रशासन निकम्मा बनिरहेको अवस्था छ। होइन भने तपाईंको सम्पूर्ण राजनीतिक जीवनको अनुभवको आधारमा तपाईंले चलाएको सत्ता शासनको आधारमा भन्नुपर्दा केही हामी पीडितले न्याय पाउनुपर्ने होइन र ?’ ज्ञापनपत्रमा भनिएको छ।

सहकारी प्रकरणमा एमाले मौन रहेकोमा जवाफ मागेको श्रेष्ठले बताए। राजनीतिक दल र राज्यसत्ताले चाहेमा एक जना व्यक्तिलाई जहाँ भए पनि झिकाएर कानुनी दायारमा ल्याउन सक्ने उनको भनाइ छ। सूर्यदर्शन सहकारी प्रकरणमा फरार रहेका १४ जनालाई पक्राउ गर्न अनुरोध गरेको श्रेष्ठले जानाकारी दिए।

ज्ञापनपत्र बुझेपछि ओलीले पीडितको पक्षमा काम गर्ने आश्वासन दिएका थिए। ‘ज्ञापनपत्र बुझेपछि हुन्छ हुन्छ म गर्छु भन्नुभो’, श्रेष्ठले भने, ‘हुन्न त कसले भनेका छन् र काम पो हुँदैन।’

यसअघि चैत ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सहकारी पीडितले ज्ञापनपत्र बुझाएका थिए। त्यतिबेला प्रधानमन्त्रीले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका पनि थिए।

corrent noodles
Metro Mart

सहकारीका बचतकर्ताले यही विषयलाई लिएर गत माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि ज्ञापनपत्र बुझाएका थिए। यस्तै, माघ १२ गते तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडितले बचत फिर्ताको माग राख्दै समस्या सुनाएका थिए। सबैले समस्या समाधान गर्ने वचन दिएका थिए।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब ठगेको छ। पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

सहकारीका सञ्चालक राईसहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म ५ जनामात्रै पक्राउ परेका छन्। पीडित बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए।

नेपाली कांग्रेसले पछिल्लो समय सदनमा रविको सहकारीमा संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै आइरहेको छ।

प्रकाशित: Apr 05, 2024| 14:53 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्