शनिबार, मंसिर ८, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • नदी प्रदूषणले यसरी जोखिममा पर्दैछ निकुञ्जको परिस्थितिकीय प्रणाली

Siddartha premir insuranceSiddartha premir insurance

नदी प्रदूषणले यसरी जोखिममा पर्दैछ निकुञ्जको परिस्थितिकीय प्रणाली

 |  शनिबार, चैत २४, २०८०
nespernesper

भीष्मराज ओझा

भीष्मराज ओझा

शनिबार, चैत २४, २०८०

सौराहा- चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको परिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।

triton college

बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो। साथै नदीजन्य निर्माण सामग्रीको अत्यधिक दोहनले नदीको प्राकृतिकस्वरुप सङ्कुचन भएको छ। नदी क्षेत्रमा बालुवाको ‘रास’ कम हुँदा प्राकृतिक रुपमै पानी फिल्टर हुने प्रक्रियामा बाधा पुगेको छ।

काभ्रे र मकवानपुरको डाँडाबाट सुरु भई बग्ने राप्ती नदी ससाना अन्य नदी तथा खोला सङ्कलन गरेर इन्द्रसरोवर जलाशय हुँदै हेटौँडा भएर चितवनतर्फ बग्ने गर्दछ। चुरेको दक्षिण सिमाना भएर बग्ने यो नदी पर्सा र चितवन राष्ट्रिय निकुञ्जका जीवजन्तुको पिउने पानीको मुख्य स्रोत हो।

राप्ती नदीको प्रदूषणको अवस्थाबारे अध्ययन गरेका काठमाडौं विश्वविद्यालयका प्रा डा सुवोध शर्माले नदीको प्रदूषण र नदीजन्य सामग्रीको जथाभावी उत्खनन ठूलो समस्याका रुपमा रहेको बताए। उनले चितवनअन्तर्गत नदी आसपास ७१ उद्योग रहेका र उद्योगबाट निस्कने फोहर र तरल पदार्थ प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नदीमै मिसिने गरेको बताए।

हेटौंडा क्षेत्रमा नदी आसपासमा ६२ उद्योग भए पनि त्यहाँ औद्योगिक क्षेत्र भएकाले उद्योगले शुद्धीकरण गरेर फोहर विसर्जन गर्ने गरेका छन्। चितवनमा भएका उद्योग छरिएर रहेकाले शुद्धीकरणका लागि सो व्यवस्था गर्न खर्चिलो हुन्छ।

Metro Mart
vianet

नदी आसपास सिमेन्ट कारखानाका साथै कपडा र साबुन उद्योग, रक्सी र बियर उत्पादक उद्योग, बोटलिङ र अन्य बहुर्राष्ट्रिय कम्पनी रहेका छन्। राप्तीमा मिसिने लोथर र मनहरा दक्षिणतिर बग्ने नदी हुन् भने दक्षिणबाट उत्तरतिर अन्य ससाना आधा दर्जन नदी र खोला छन्। राप्तीमा मिसिने अन्य नदी र खोलाले पनि प्रदूषण बोकेर ल्याउँछन्।

‘नदीको प्रदूषण नियन्त्रण र उत्खनन् बन्द नगर्ने हो भने पर्सा र चितवन निकुञ्जमा भएका वन्यजन्तु प्रदूषित पानी खाएर बिरामी हुने सम्भावना छ’, प्रा डा शर्माले भने, ‘वन्यजन्तुहरुले पिउने पानीको स्रोत नै राप्ती हो। नदीबाट पानी रसायर भूमिगत भई जंगलका बीचमा सिमसार बनेका छन्। त्यही पानी हात्ती, गैंडा, बाघलगायत वन्यजन्तुले पिउँछन्।’

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन्। चितवन निकुञ्जअन्तर्गत नारायणी, राप्ती र रिउ नदी तथा ससाना खोल्सा छन्। राप्ती नदी चितवन निकुञ्जभित्रै नारायणी नदीमा मिसिन्छ।

विश्वविद्यालयको जलीय पर्यावरण केन्द्रका निर्देशकसमेत रहेका उनले रयायनयुक्त पानीमा सिसाको मात्रा पनि हुने र पानीसँगै वन्यजन्तुको शरीरमा पुगेपछि स्वास्थ्यमा असर पर्ने उल्लेख गरे।

प्रा डा शर्माले आगामी दिनमा निकुञ्जभित्रका सिमसारको अवस्था, सिमसारमा पानी पिउने वन्यजन्तु र उनीहरुको स्वास्थ्यबारे अनुसन्धान गर्ने तयारीमा रहेको बताए।प्रदूषित पानीकै कारण ठूला वन्यजन्तुलाई क्षयरोग लाग्ने गरेको उनको भनाइ छ।

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा, पाटे बाघ, जंगली हात्ती, गोहीलगायत वन्यजन्तु पर्यटकका मुख्य आकर्षक हुन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कूल सात सय ५२ गैंडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन्। यस्तै नेपालमा कूल पाटे बाघको सङ्ख्या तीजसय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ बाघ छन्।

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले हेटौंडादेखि नै नदीमा ढलका साथै उद्योग कलकारखानाको फोहरमैला मिसिने गरेको बताए। ‘लोथर र मनहरी क्षेत्रबाट पनि फोहर मिसिने गरेको छ। राप्ती किनाराका क्रसर उद्योगको फोहर मैला पनि नदीमा मिसिन्छ’, उनले भने।

हालै सौराहा बजारको सडक दायाँबायाँ आकाशको पानी मात्र बग्ने गरी निर्माण गरिएको ड्रेनबाट पनि भविष्यमा राप्ती नदीमा फोहर मिसिने अध्यक्ष गिरीको चिन्ता छ। ‘होटल र रेष्टुरेन्टका लागि जग्गा क्षेत्रफलको मापदण्ड लागू गर्न कडाइ नहुँदा सानो क्षेत्रफलमा समेत ठूला होटल खुल्ने गरेको छ। यस्ता होटलले बाध्य भएर नदीमा फोहर मिसाउने सम्भावना रहन्छ। यसबारेमा बेलैमा सोच्नुपर्छ’, उनले भने।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रका आयोजना व्यवस्थापक रचना शाहले नदीमा प्लास्किजन्य फोहर देखिएको बताए। नदीमा प्रदूषण बढ्नाले जलचर प्राणीका साथै वन्यजन्तु र निकुञ्जको पारिस्थितिकीय प्रणालीमै असर पुग्ने उनले बताए। ‘माथिल्लो भेगीय क्षेत्र हेटौंडा मनहरीलगायत क्षेत्रमा भएको फोहर बगेर आउने मुख्य समस्या हो।

तल्लो भेगमा प्रदूषण कम छ’, उनले भने, ‘यकिन अध्ययन भएको छैन। प्लास्टिक प्रदूषण देखिएको छ। रसायन प्रदूषण देखिएको छैन। “यो पर्यावरणीय संरक्षणका लागि मुख्य चुनौती हो। हामी यसमा काम गर्न खोजिरहेका छौं।’

निकुञ्जमा दुर्लभ वन्यजन्तुका साथै घडियाल र मगर गोही, अजिङ्गरलगायत सरिसृप,  उभयचर र बसाइँसरी आएका तथा रैथाने गरी पाँच सय ४६ भन्दाबढी जातका चराचुरुंगी छन्।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा छन्। नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भूपरिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ।

निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने नदी प्रदूषणमा आफूहरुले कडाइ र नियन्त्रणको प्रयास जारी रहेकाले धेरै फोहर हुन नपाएको उल्लेख गरे। ‘यस क्षेत्रमा त प्रदूषण नियन्त्रण र कडाइमा हाम्रो प्रयास जारी नै छ। तर माथिल्लो भेगमा हुने फोहर बढाउने क्रियाकलाप र भएको प्रदूषणका स्रोतले यहाँ (निकुञ्ज) पनि असर गर्नेतर्फ हेक्का राख्नुपर्छ’, उनले भने।

वर्षामा नदीमा प्लास्टिजन्य वस्तु तथा बोतल बगेर आउने गरेको बताउँदै वरिष्ठ संरक्षण अधिकृत पुनले यसमा सबैले सजगता अपनाउनुपर्नेमा जोड दिए। उनले ढलको निकास सिधै खोलामै पुर्‍याउनुपर्छ भन्ने सोच परिवर्तन गरी शुद्धीकरण गरेर मात्र विसर्जन गर्नुपर्ने सचेतना आवश्यक रहेको उल्लेख गरे।

निकुञ्ज क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नदी प्रदूषण नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम गरिरहेको बताए। ‘निकुञ्ज क्षेत्रको नदी भएकाले उद्योगलाई दूषित पानी, ढल र अन्य फोहर सिधै नदीमा मिसाउन कडाइ गरेका छौं’,  उनले भने। नगर प्रमुख सापकोटाले भने, ‘केही उद्योगले यसअघि राप्ती नदीको सहायक खोलामा फोहर पानी मिसाएपछि हामीले रोकेका थियौं।’

उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले सम्बन्धित उद्योगले अनुमति लिने क्रममा प्रदूषण नियन्त्रणका लागि अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन गर्ने गरेको बताए।  साथै उनले मापदण्ड प्रतिकूल प्रदूषण गर्ने उद्योगलाई कानुनबमोजिम कारबाही हुने उल्लेख गरे।

नेपालमा संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रुपमा रहेका छन्। आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ। चितवनमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए। नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन्।   -रासस

प्रकाशित: Apr 06, 2024| 09:01 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्