आइतबार, पुस १३, २०८२

आँगनमै सडक पुग्दा दंग छन् धारापानीबासी

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ धारापानीका भुवन गौतम सवारीसाधन घरआँगनमै पुग्दा निकै खुसी छन्। उनको गाउँसम्म ट्रयाक्टर र मोटरसाइकलमा सामान ढुवानी हुन थालेको छ।

National life

'सडकको व्यवस्था नहुँदा विगतमा पिठ्युँमा डोको राखेर सामान ढुवानी गर्नुपर्ने अवस्था थियो', उनले भने, 'अहिले घरआँगनमै सामान ढुवानी हुन थालेकामा निकै खुसी छौँ।'

बिरामी र सुत्केरी हुने महिलालाई डोकोमै बोकेर झन्डै १३ किलोमिटर टाढाको झलारी बजारमा रहेका स्वास्थ्य संस्थामा पुर्‍याएको विगतको स्मरण उनीसँग छ। गाउँसम्म पुग्ने सडकमा सुधार भएपछि अहिले मोटरसाइकलमै बिरामीलाई राखेर उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउन सकिने भएको उनको भनाइ छ।

धारापानीकै स्थानीय साइमले धामीले घरमै पसल खोलेकी छिन्। पहिला उनले डोकोमै सामान राखेर पैदल भरिया लगाएर र आफैले पनि सामान बोक्ने गर्थिन्। अहिले सडकको अवस्था सुध्रिँदा घरसम्मै ट्रयाक्टरमा सामान ढुवानी हुन थालेकामा उनी खुसी व्यक्त गर्छिन्।

'गाउँको उत्पादन बजारसम्म पुर्‍याएर बेच्दै आएका छौँ', उनले भनिन्, 'बजारबाट पसलका लागि आवश्यक सामान ढुवानीका साधनबाट घरआँगनमै पुग्न थालेको छ।' पिठ्युँमा बोकेर ल्याउने सामानभन्दा ढुवानी गरेर गाउँसम्म पुर्‍याएको सामान निकै सस्तो हुने गरेको छ।

Laxmi sunrise bank
kumari

'बर्सातका बेला ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुन्छ', धामीले भने, 'जोखिम उठाएर सडकमा पैदल हिँडनुपर्ने बाध्यता अझै रहेको छ।' नयाँ संविधान जारी भएर त्यसै अनुरुप स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँसम्म पुग्ने सडक निर्माणकार्य थालिएको उनको भनाइ छ। 

'प्रत्येक वर्ष वडाका तर्फबाट बजेट विनियोजन गरी सडक सुधार गर्ने हुँदै आएको छ', स्थानीय रायभान ठगुन्नाले भने, 'पहिरो रोकथामका लागि काम अगाडि नबढ्दा वर्षात्मा पूरै सडक पहिरोसँग बगेर जान्छ, पुनः अर्को वर्ष सडक खन्ने कार्य हुन्छ, यो क्रम दोहोरिरहन्छ।'

पहिरो रोकथामका लागि पर्खाल निर्माण गरिनुपर्ने उनले बताए। धारापानी गाउँसम्म विद्युतको व्यवस्था नहुँदा स्थानीय बासिन्दाले टुकीको सहारामा रातिका बेला उज्यालो गर्नुपर्ने अवस्था भने अझै विद्यमान रहेको छ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा स्थानीय बासिन्दाले धारापानी खोलाकै पानी उपयोगमा ल्याउने गरेका छन्। विद्यालय गाउँभन्दा निकै टाढा हुँदा बालबालिकालाई आउजाउ गर्न निकै समस्या रहेको छ।

वडाध्यक्ष बहादुरसिंह महराले जनप्रतिनिधि भएर आएदेखि नै चुरे फेदीको दुर्गम गाउँका बासिन्दालाई सडक सञ्जालमा जोड्ने प्रयास गर्दै आएको बताए। वडाको थोरै बजेटले सडक खन्ने कार्य हुँदै आए पनि पहिरो रोकथामका लागि बजेट अभाव हुँदा सडकलाई बाह्रै महिना सञ्चालन गर्न नसकिएको बताए।

धारापानी गाउँसम्म विद्युत् सेवा पुर्याउन प्रयासरत रहेको उनको भनाइ छ। रासस

प्रकाशित: Apr 05, 2024| 06:01 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्