आइतबार, पुस १३, २०८२

वीरगञ्ज नगर क्षेत्रका आधा दर्जन सडक कालोपत्रे गरिँदै

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

वीरगञ्ज- पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ। वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो। सोही योजनाअनुसार नगरपालिकाले वडा नं १ स्थित जनता सडकमा कालोपत्र सम्पन्न गरेको छ।

National life

वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धूलोका कारण सास्ती भोग्दै आएका स्थानीय सो सडक पक्की भएसँगै हर्षित भएका छन्। कोइलाभार मन्दिरदेखि कोइलाभार टोलसम्मको सडकखण्डलाई नगरपालिका कार्यालयले नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजारको लागतमा निर्माण गरेको हो। उक्त एक दशमलव ५४ किलोमिटर सडक कालोपत्र गरिएको हो। सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन्।

‘पहिला सडक कच्ची थियो, वर्षायाममा हिलाम्मे र सुख्खायाम धुलाम्मे हुन्थ्यो’, पर्सागढी नगरपालिका–१ का श्याम महतोले भने, ‘आवतजावतमा सहज मात्रै होइन्, अब हिलो र धुलोबाटमुक्त भएको अनुभूति भइरहेको छ।’ ठूलो धार्मिक महत्व बोकेको कोइलाभार मन्दिरसम्म पुग्न पहिला धेरै गाह्रो हुने र अब टोलबाट मन्दिरसम्म पुग्न सहज भएको उनको भनाइ छ।

नगरपालिकाले ग्रामीण भेग र सहरको दुरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको समान नजिकैको बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीय कामेश्वर यादवले बताए। लामो समयदेखि सरकारी उपेक्षामा परेको सो सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर कालोपत्र गरिएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए।

नगरपालिकाको सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख पाठकले बताए। उनले कालोपत्र सडक निर्माण कार्यलाई सहरी र ग्रामीण क्षेत्रमा सन्तुलित रुपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे।

Laxmi sunrise bank
kumari

‘मेरो पहिलो प्राथमिकता नै स्थानीय सडक पूर्वाधार निर्माण नै हो’, नगरप्रमुख पाठकले भने, ‘कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समयपनि नोक्सानी हुन्छ, त्यसैले दिगो सडक विकास गर्ने लक्ष्यसहित सडकलाई कालोपत्र गर्न थालेका छौँ।’ यसैवर्ष नगरपालिकाको छ वटा स्थानका सडकलाई कालोपत्र गर्न लागेको उनको भनाइ छ।

नगरप्रमुख पाठकका अनुसार यसैवर्ष पर्सागढी नगरपालिका–१ को नववा बजारदेखि भटनी टोल जोड्ने सडक, वडा नं २ को बागबन्नदेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जमुनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र गरिने छ।

‘एक पटक सडक कालोपत्र भयो भने वर्षौंसम्म त्यो सडकमा बजेट खर्चिनु पर्दैन’, नगरप्रमुख पाठकले भने, ‘जसका कारण एकातिर सडकमा हिलाम्मे र धुलाम्मे पनि भएन् र अर्कोतर्फ बजेट तथा समयको समेत बचत हुन्छ।’ त्यो बजेटले अर्को काम पनि खर्च गर्न सकिन्छ, उनले भने।

ती अधिकांश सडक कालोपत्र गर्ने गरी सम्झौताको काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सकिने योजना रहेको उनले बताए।   -रासस

प्रकाशित: Apr 04, 2024| 22:01 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्