आइतबार, पुस १३, २०८२

कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार निर्माण

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

गलकोट- एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ। 

National life

कालीगण्डकीको धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीर्थस्थलका रुपमा विकास गर्न थालिएको उक्त परियोजनाअन्तर्गत हालसम्म चार करोड रूपैयाँको पूर्वाधार निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ।

शालग्राम पाइने एक मात्र नदी कालीगण्डकी किनारमा निर्माण थालिएको कृष्णगण्डकी परियोजनाले गण्डकी सभ्यता, शालग्राम संरक्षण र नदीको महत्व दर्शाउने लक्ष्य लिनाका साथै पवित्र तीर्थस्थलका रुपमा धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।  

कालीगण्डकी नदीलाई संस्कृति भाषामा कृष्ण गण्डकी भनिन्छ। गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदीको सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि नदी किनारमा एक वर्षअघि मात्रै कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको थियो।

सत्संग हल, कालीगण्डकी कटान नियन्त्रण र बस्ती संरक्षण, पैदल मार्गको ढुंगा छाप्ने, जग्गा व्यवस्थापन, तारजाली र पर्खाल लगाउने काम भइरहेको छ। सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकीको प्रसारप्रचार र संरक्षणका लागि बृहत् कृष्णगण्डकी परियोजना निर्माणले तीव्रता पाएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) का केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिए।

Laxmi sunrise bank
kumari

'हाम्रो लक्ष्य बृहत् छ, गण्डकीको महिमा बुझाउन र यसको प्रवर्द्धन गरी पर्यटकीय गतिविधि बढाउन नदी किनारमै परियोजना सञ्चालनमा ल्याइएका छौँ। विदेशीहरुले गण्डकीको महिमा बुझिसकेको अवस्थामा हामी भने नदी दोहन गरिरहेका छौँ', अध्यक्ष दासले भने।

सिंगो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्रलाई तीर्थस्थलका रुपमा विकास गर्ने र यहाँ पाइने पवित्र शालग्रामको संरक्षण गर्ने स्कोनको उद्देश्य रहेको उनको भनाइ छ।

नदी छेउमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको बृहत् कल्पनाका साथ एक वर्षअघि मात्रै बागलुङ नगरपालिका-१ मालढुंगास्थित खुतुर्केघाटमा कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको भन्दै हालसम्म चार करोड रूपैयाँको संरचना तयार भइसकेका दासले बताए।

करिब १७ रोपनी जग्गामा सञ्चालित परियोजनाको निर्माणले गति लिइरहेको भन्दै परियोजनाको अगुवाइ स्कोनले गरिएको बागलुङ नगर कार्यालयले जनाएको छ। एक करोड ३५ लाख रूपैयाँ लागतमा कालीगण्डकीको कटान रोक्नका लागि बागलुङको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पूर्वाधार निर्माण भइरहेको छ।

नदीको कटान रोक्न तथा स्नान गर्ने स्थल निर्माण गर्न गत आर्थिक वर्षमा ६५ लाख र चालु आवमा ७० लाख रूपैयाँ विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार आगमी चार वर्षमा परियोजनाको आधारभूत काम सम्पन्न भइसक्नेछ।

परियोजना सम्पन्न गर्न १७ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको इञ्जिनियर पौडेलले बताए। जीवनलाई खुसी बनाउने, योग ध्यान तथा तपस्या गर्नेदेखि घाटसम्म एउटै परियोजनाभित्र राखिएको उनको भनाइ छ।

कालीगण्डकी दोहनको चपेटामा परिरहेको तथा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याई पूर्वाधार निर्माण थालिएको गौराङ्ग दासले बताए।

उनले पहिलोपटक कालीगण्डकीको महिमाको विषयमा ‘गण्डकी उत्सव’ कार्यक्रम गरिएको जनाउँदै यसको संरक्षण तथा प्रवर्द्धनका लागि स्कोन अगाडि बढिरहेको बताए।

परियोजनाले समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने तथा धार्मिक तीर्थस्थलको प्रमुख स्थानका रुपमा प्रचारप्रसार गर्नेगरी सञ्चालनमा ल्याइने स्कोनले जनाएको छ। रासस

प्रकाशित: Apr 03, 2024| 22:01 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्