काठमाडौं- नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यबाट राजीनामा दिएका कुमार खड्काले आफूहरू पिल्सिएको बताएका छन्। अखण्ड पार्टी नेपालबाट कांग्रेसमा आएका खड्काले क्रियाशील सदस्यताको विवादले आफूहरूलाई पिल्स्याएको बताएका हुन्।
'सुर्खेतमा किन विवाद ल्याइयो? १३ सय सिफारिस भएकामा करिब २ सयले क्रियाशील पाउने अवस्था छ र पनि विवाद ल्याउने? हामी पिल्सिएका छौँ। यसलाई रोक्नु पर्छ,' बैठकमा उनले भनेका थिए।
पार्टी एकताको ४४ महिनापछि क्रियाशील विवाद ल्याइएकाले आफूहरूलाई पीडा भएको उनको भनाइ छ। अखण्ड पार्टी नेपालबाट आएको भनेर कांग्रेसकै कार्यकर्ताहरूलाई क्रियाशील सदस्यता दिइएको उनको भनाइ छ।
'पार्टी एकता अघि ती मान्छे कहाँ थिए? त्यो बेला म पनि कांग्रेस थिएँ। ७० को चुनावमा अखण्ड नेपालले चुनाव जित्न नसक्ने स्थिति आएपछि कांग्रेसलाई भोट हाल्न भनियो। कांग्रेसलाई पूर्ण सहयोग गरियो। कांग्रेसले जित्यो। अखण्ड पार्टीबाट उम्मेदवार भएका ठाँउमा शून्य मत आयो। तर अहिले विवाद गर्ने? मानमर्दन गर्ने?,' अखण्ड पार्टीबाट आएकाहरूलाई पार्टीमा दोस्रो दर्जा दिइएको भन्दै उनको आपत्ति थियो।
उनले 'को हार्छ र को जित्छ' भन्ने आधारमा भन्दा पनि कांग्रेसले जित्नुपर्ने भएकाले क्रियाशीलको विवाद सुल्झाउनुपर्ने बताएका थिए। आफूले ४ वर्षदेखि अखण्डबाट आएका कार्यकर्ताहरूलाई पार्टीको झन्डा बोक्न लगाएको तर यत्रो योगदान गर्दा पनि कांग्रेसले क्रियाशील निदएको उनको आरोप थियो। 'चार बर्ष देखि पार्टीको झन्डा बोक्न लगाको छु। अब अर्को पार्टी खोज भनेर कसरी भनौँ। तसर्थ क्रियाशील सदस्यता दिन विवाद गर्न हुँदैन,' उनले भनेका थिए।