आइतबार, चैत २९, २०८२

इलाम-२ उपनिर्वाचन

अरु दल मैदानमा उत्रिसक्दा कांग्रेस उम्मेदवार छनोटमै

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

काठमाडौं- दलहरुलाई अहिले उपनिर्वाचन लागेको छ। आगामी वैशाख १५ गते एउटा प्रतिनिधि सभा र एउटा प्रदेश सभा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

National life

सूदूरपूर्व र सुदूरपश्चिमका एक-एक क्षेत्रमा निर्वाचन हुन लागे माहोल भने काठमाडौंसम्मै गर्माएको छ। यो उपनिर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। एमालेले आफ्नो विरासत जोगाउन बल गरिरहेको छ भने अहिलेसम्म त्यो क्षेत्रमा जित निकाल्न नसकेको कांग्रेस चार तारे झण्डा फहराउने दाउमा छ। 

इलाम-२ मा एमाले, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाएर मैदानमा उतारिसकेका छन्।  पहिचानवादीहरूले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक केन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन्। सिके राउतको जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाइसकेको छ। केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। 

एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्वसभामुख तथा पार्टीका पूर्वउपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन्। सुवास सांसद रहेकै बेला २०८०  भदौ १६ गते उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ। लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएकोमा बाँकी ५ जनाले पनि लिम्बुलाई नै समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

kumari

नेपाली कांग्रेसले भने अझै उम्मेदवार चयन गरेको छैन। मतदाताको भावना बुझ्न भन्दै महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन क्षेत्रमा खटिएका छन्। २० गतेसम्म उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ। वैशाख १५ मा चुनावका लागि २४ चैतमा उम्मेदवारी मनोननयन हुँदैछ।

कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। ५ जना पुरुष र २ जना महिलाको नाम केन्द्रमा पठाइएको हो। डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको छ।

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापतिसमेत रहेका डम्बर खड्कालाई सुवास नेम्बाङले झिनो मतान्तरले पराजित गरेएका थिए। नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए।  

त्यसबेला कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी)को गठबन्धन थियो। एमाले एक्लै लडेको थियो।

समानुपातिकमा यस्तो थियो २०७९ को परिणाम
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम-२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो। खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो। 

सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, मत प्राप्त गरेको थियो।

साथै माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए। 

प्रकाशित: Mar 29, 2024| 08:01 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्