सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग थालियो छलफल

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग थालियो छलफल

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

काठमाडौं- ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ।

National life

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परिषद्ले आज व्यवसायी र घरधनीसँग छलफल गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘चौबिसै घण्टा बजार सञ्चालनका लागि आचारसंहिता एवम् सुरक्षा मापदण्ड-२०८०’ तयार गरिसकेको छ। चौबिसै घण्टा बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले तयार पारेको आचारसंहिता एवं सुरक्षा मापदण्डका बारेमा व्यवसायी तथा घरधनीको राय, सुझाव लिनका लागि छलफल आयोजना गरिएको परिषद्का महासचिव राजीव पाण्डेले जानकारी दिए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले प्रचलित कानूनको अधीनमा रहेर कसरी ठमेलभित्र चौबिसै घण्टा व्यापार-व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेर घरधनी र व्यवसायीको सुझाव मागिएको बताए।

'ठमेल क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि परिषद्ले यसअघि पनि सरोकारवाला निकायसँग पटकपटक छलफल गरी जिल्ला प्रशासन कार्यालयमा व्यावसायिक आचारसंहिता र सुरक्षा मापदण्ड बनाएर बुझाइसकेको थियो, ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने परिषद्को चाहना हो',उनले भने।

Laxmi sunrise bank
kumari

जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ। यस्तै रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता समेत तयार गरिएको हो।

जिप्रका काठमाडौंले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा समेत मापदण्डमा समेटेको छ। मापदण्डबमोजिम कार्य भए/नभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाइने छ।

यस्तै बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई समेत आचारसंहिता तथा मापदण्डमा राखिएको छ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेको बताए। हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी छन्। व्यवसाय तथा घरधनी दुवैलाई सहज हुने गरी आचारसंहिता तथा मापदण्डलाई कार्यान्वयनमा लैजाने उपाध्यक्ष धमलाले बताए।

प्रकाशित: Mar 27, 2024| 16:01 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्