सोमबार, पुस १४, २०८२

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

काँक्रेविहार- बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ।

National life

यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका छन्। गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसइई दिएका थिए। गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो।

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन्। परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसइई दिँदैछन्। यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ। रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन्भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन्।

चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ। हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ। सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसइई दिँदैछन्। यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।

Laxmi sunrise bank
kumari

जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसइई दिँदैछन्।

हुम्लामा छवटा परीक्षा केन्द्र छन्। परीक्षार्थी एक हजार एक सय ९५ छन्। मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन्। यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन्।

जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन्।

प्रकाशित: Mar 27, 2024| 14:31 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्