बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाँसखर्कको सुन्तलाखेतीमा असिनाले क्षति, आगामी वर्ष उत्पादन घट्ने चिन्ता

बाँसखर्कको सुन्तलाखेतीमा असिनाले क्षति, आगामी वर्ष उत्पादन घट्ने चिन्ता

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

पर्वत- वर्षासँगै असिना परेपछि जलजला गाउँपालिका-१ बाँसखर्कमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा क्षति पुगेको छ। सोमबार दिउँसो परेको असिनापानीले भर्खरै फूल लागेका सुन्तलामा क्षति पुगेको हो।

असिनाले सुन्तलाका फुल र मुन्टा झारेको किसान जगतबहादुर खत्रीले बताए। 'असिनाका कारण ६० प्रतिशतभन्दा बढी बोटमा असर पुगेको छ', उनले भने। उनले यसवर्ष सुन्तला बिक्रीबाट ११ करोड रूपैयाँ भित्र्याएका बाँसखर्कका किसान असिनाका कारण आगामी वर्ष उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यहाँका झन्डै दुई सय घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा छन्। त्यसैगरी जलजलाकै लेखफाँट र सालिजामा आलु, जौ, तोरी र पाक्न थालेको गहुँबाली र किबी खेतीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्।

जिल्लाको महाशिला गाउँपालिकामा पनि असिनाले क्षति पुर्‍याएको छ। स्थानीय जीवन उच्चै ठकुरीका अनुसार किसानलाई वर्षे बाली लगाउन सहज भए पनि हिउँदेबाली भने नष्ट गरेको बताए। उनले पाक्ने बेलाको गुहँ, जौ, तोरी र व्यावसायिक तरकारीखेती गरेका किसानलाई ठूलो क्षति पुगेको बताए।

कृषि ज्ञान केन्द्र पर्वतले जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले बालीनालीमा क्षति पुगेको जनाएको छ। कार्यालयका बागबानी विकास अधिकृत शंकर पौडेलका अनुसार सुन्तला, किबिलगायतका फलफुल र गहुँ, जौ, तोरी, आलुबालीमा असिनाले क्षति पुर्‍याएको बताए। अहिले विभिन्न पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ रहेको छ। 

पाक्ने बेलाको गहुँ, तोरी असिनाले झार्दा किसानलाई बढी मार परेको उनको भनाइ छ। क्षतिको यकिन तथ्यांक संकलन गरिसकेपछि किसानलाई आवश्यक राहतका लागि पहल गरिने कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Mar 26, 2024| 19:31 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्