सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मोटरबोट सञ्चालनमा आएसँगै वाटरपार्कमा बाक्लियो आन्तरिक पर्यटकको चहलपहल

मोटरबोट सञ्चालनमा आएसँगै वाटरपार्कमा बाक्लियो आन्तरिक पर्यटकको चहलपहल

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

बाँके- नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ। वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन्।

National life

वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए।

'यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ', नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, 'वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत संकलनको माध्यम पनि बन्दै गएको छ।'

नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन्। आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ। चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताए।

विसं २०६५ मा सुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ। वरिपरि पक्की सडक निर्माण भइरहेको छ। १५ वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ।

Laxmi sunrise bank
kumari

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ। नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ। वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ।

एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी बैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ। तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए। कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रूपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।

पर्यटकले मोटरबोट चढ्न दुई सय ५० रूपैयाँ तिर्नुपर्छ। बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर सयर गर्न सक्नेछन्। वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताए। रासस

प्रकाशित: Mar 27, 2024| 08:01 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्