सोमबार, पुस १४, २०८२

कुचोको मूल्य घटेपछि समस्यामा इलामका अम्रिसो किसान

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

फिक्कल- इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले गत साल तीन लाख ९० हजार रूपैयाँको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो।

National life

उनले प्रतिकिलो एकसय ३० रूपैयाँका दरले ३० क्विन्टल कुचो बेचेका थिए। यसवर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो।

३० क्विन्टल कुचो बिक्री गर्दा राम्रो भाउ आएन। 'यतिबेला प्रतिकिलो ६० देखि ६५ रूपैयाँ मात्र छ, खेताला लगाएको पारिश्रमिक पनि नउठ्ने भएपछि गोदाममा नै थन्क्याएर राखेको छु,' उनले भने, 'अलि भाउ आउँछ कि भनेर पर्खेको तर भाउ आएन, यो साल घरखर्च टार्न समस्या हुने भयो।'

माकाहाङकै अर्का किसान रणबहादुर लिम्बू समस्या पनि उदयको भन्दा फरक छैन। गुजारा चलाउने माध्यम अम्रिसो खेतीलाई बनाउनुभएका लिम्बूको परिवार अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्तामा छ। गत वर्ष प्रतिकिलो एक सय २० रूपैयाँका दरले १२ क्विन्टल कुचो बेचेका उनले यस वर्ष प्रतिकिलो ७० रूपैयाँले मात्र कुचो बेचे। कुचोबाट आम्दानी हुने आशाले खेतीयोग्य जमिनमा अम्रिसो रोपेका उनलाई कुचोले भाउ नपाएपछि चिन्ताले पिरोलेको छ।

उनीहरु प्रतिनिधि किसान मात्र हुन्। यस वर्ष कुचोले राम्रो मूल्य नपाएपछि उनीहरुजस्ता जिल्लाका प्रायः सबै किसानलाई गुजारा चलाउन समस्या परेको छ। विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ।

Laxmi sunrise bank
kumari

गत वर्ष प्रतिकिलो एकसय २० देखि एकसय ३० रूपैयाँ सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो ६५ मा मात्र किनबेच भइरहेको माङसेबुङ गाउँपालिका-५ का व्यापारी जसहाङ साउदेनले बताए। यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कमी हो।

भाउ घटेकै कारण किसानबाट किनेको कुचो बिक्री नगरी गोदाममै थन्क्याएर राख्न बाध्य भएको साउदेनले बताए। 'यस वर्ष सुरुमा ‘ए ग्रेड’ कुचोको भाउ प्रतिकिलो ७० देखि ७५ रूपैयाँ सम्म चल्यो। मैले पनि सोही भाउमा किसानबाट कुचो किने तर अहिले भाउ घटेर प्रतिकिलो ६५ रूपैयाँमा झर्‍यो,' उनले भने, 'करिब आठ सय क्विन्टल कुचो गोदाममै थन्क्याएर राखेको छु। यस वर्ष कुचोले किसान मात्र होइन व्यापारीलाई समेत घाटा लगाएको छ।'

जिल्लामो अलैँची खेती मासिने क्रम बढेपछि अधिकांश किसानले अम्रिसो लगाएका थिए। पाखो र भिरालो जमिन भए पनि सप्रिने अम्रिसो अलैँचीको वैकल्पिक खेती बनेको थियो। अम्रिसो खेती इलामका प्रायः सबै पालिकामा हुने गर्छ।

इलाममा उत्पादित कुचो झापाको धुलाबारीमा संकलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्छ। इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने गरेको तथ्यांक छ। कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा वृद्धि हुने व्यापारीको अनुमान छ। रासस

प्रकाशित: Mar 26, 2024| 21:01 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्