मंगलबार, असार ९, २०८३

मूल्य बढेसँगै ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

फुङ्लिङ- ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन्। चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन्।

National life

फक्ताङलुङ गाउँपालिका-६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन्। उनीसँग चिराइतो खेतीको लामो अनुभव छ। विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड-१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्थे। लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताए। लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेका छन्।

फक्ताङलुङ-६ लुङथुङका तीर्थ राई पनि अहिले हाल चिराइतोको बीउ छर्नमा व्यस्त छन्। उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जग्गा तयार गरेका छन्। फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरेको राईले बताए।

'चिराइतोको बीउ तयार गरेको छु। अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु', राईले भने, 'एक वर्ष त चिराइतो बिक्री नै भएन। त्यसपछि सबैले खेती गर्न छोडेका थिए  यस वर्ष गाउँमा नै प्रतिमन ४२ हजार रूपैयाँसम्ममा खरिद गर्ने व्यापारी आए। तर गाउँमा उत्पादन न्यून थियो।'

Shivam cement

चिराइतोको उचित मूल्य आउने आशमा राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेका थिए। आउँदो कात्तिकसम्ममा बिक्री गर्न योग्य हुने राईले बताए। गत वर्ष उनले १६ रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेका थिए। अहिले राईले ३० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्न लागेका छन्। राईले भने, 'अहिले लगाएको चिराइतो अबको २७ महिनामा उत्पादन हुने आशा छ।' 

केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल परेको किसान बताउँछन्। विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना दुई हजार ५ सय रूपैयाँमा खरिद बिक्री हुने गरेको छ। 

फक्ताङलुङ-५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोडेको चार वर्ष भएको थियो। तर अहिले चिराइतो खेती गर्नका लागि उनले आठ रोपनी जग्गा तयार गरेका छन्। 'दुई वर्षयता चिराइतोको उचित बजार मूल्य पाइन थालेको छ। गाउँमा अहिले सबै चिराइतो खेती गर्ने तयारीमा छन्।' आङबोहाङले भने, 'अहिले बजार मूल्य राम्रो पाइने आशले गाउँका प्रायः सबै किसान खेती गर्न लागेका छन्।'

चिराइतो छर्ने समय सुरु भएको छ। चिराइतोका लागि वनजंगल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ। त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ। आगो लगाएको ठाउँमा केही दिनको अन्तरमा चिराइतो छर्नुपर्दछ। चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन्। उनीहरुले मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन्।

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानले चिराइतो खेती गर्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका, सिरिजंगा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष रुपमा चिराइतो उत्पादन हुन्छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ। जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्यांकअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार आठ सय २० किलो चिराइतो निकासी भएको छ। आव २०७८/७९ मा तीन हजार दुई सय ८० किलो चिराइतो निकासी भएको थियो । 

यस्तै आव २०७९/८० मा पाँच हजार आठ सय किलो चिराइतो निकासी भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिए। विसं २०७० यता ताप्लेजुङमा ३८ हजार किलो चिराइतो संकलन भएको तथ्यांक छ। सो अवधिमा चिराइतोबाट सात लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस

प्रकाशित: Mar 26, 2024| 09:01 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्