सोमबार, पुस १४, २०८२

नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

नुवाकोट- नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्‍याएको छ। डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन्।

National life

गत फागुन पहिलो सातादेखि सुरू भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेलले जानकारी दिए।

उनका अनुसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको छ।

‘डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्द्रित भएका छौं,’ डिभिजनल वन अधिकृत पोखरेलले भने, ‘अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलो लाग्ने वनको संख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहुनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ।’

डिभिजन वन कार्यालयले सुक्खायामको समयमा हुनसक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वंयसेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ। डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ। केही स्थानमा नियतबस लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ। नियतबस डढेलो लगाएको पुष्टि भएमा तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। नुवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन्। ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुँदै आइरहेका छन्।

प्रकाशित: Mar 25, 2024| 21:01 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्