काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन्।
बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरेकी हुन्। अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गरिन्।
‘सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ। सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ’, सांसद न्यौपानेले भनिन्, ‘सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ। सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ।’ सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेको पैसा फिर्ता हुनुपर्ने माग गरिन्।