काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र सुरु भएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्नेछन्।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचनका लागि यही चैत ७ गते बुधबार दिउँसो ३ बजेको समय तोकिएको छ। उक्त निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रस्ताव दर्ता गर्ने कार्यसूची छ।
उक्त समितिमा रहेका कुनै सदस्यलाई सभापति चयन गरियोस् भनी अर्को कुनै एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गरिनेछ। यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशित गर्ने, सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तु गर्ने समेत कार्यसूची छ।