बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा दुई लाखले लगाए रुबेला-दादुराको खोप

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन्। 

३२ वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको महानगरले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा कार्यक्रम सञ्चालन भएको थियो। दोस्रो चरणमा वडा नं ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कामपले जनाएको छ।

यही चैत २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दुई लाख बढी बालबालिकाले खोप लगाएका महानगरको खोप शाखाका सम्पर्क व्यक्ति मैयाँ सैँजुले जानकारी दिए।

महानगरका अनुसार स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका दुई लाख ३६ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि विद्यालयबाहिर रहेका केही बालबालिका नआएकाले लक्ष्यअनुरुप खोप लगाउन नसकिएको सैँजुले बताए।

रुबेला–दादुराविरुद्धको खोप शिशु जन्मेको नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ। सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहे पनि सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएकाले अभियानका रुपमा विभिन्न रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको सम्पर्क व्यक्ति सैँजुले बताए।

आर्थिक वर्ष २०७२/७३ र २०७६/७७ मा पनि यो अभियान चलाइएको थियो। २०७६/७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो। यससँगै नेपालमा फैलिएको कोरोना महामारीका कारण अभियान प्रभावित बनेको थियो। सरकारले नेपालले २०२६ सम्ममा रुबेला–दादुरा निवारण गर्ने प्रतिबद्धता गरेको छ।

कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एकवर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्नेछ।

'तालिकाअनुसार जन्मेदेखि एकवर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक मात्रा, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट, हेपाटाइटिस बी तीन मात्रा, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पोलियो र नौ महिना पूरा भएपछि रुवेला दादुराको खोप एक मात्रा दिनुपर्ने हुन्छ,' उनले भने।

प्रकाशित: Mar 17, 2024| 18:31 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्