आइतबार, वैशाख १६, २०८१

हुम्लाको लिमीका बालबालिका खोपबाट वञ्चित

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन्। 

triton college

देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन्। यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए। 

‘हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो’, उनले भने। लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताए। लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको उनको भनाइ छ। 

खोप ढुवानी गर्न हेलिकप्टर भाडाबापत रु दुई लाख खर्च लाग्ने प्रमुख सिंहले बताए। ‘बजेट नहुँदा लिमीमा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुन सकेको छैन। हिउँले बाटो अवरुद्ध हुँदा खोप गाउँपालिकाको स्वास्थ्य शाखामै थन्किएको छ। अब वैशाखपछि बाटो खुलेपछि मात्र खोप अभियान सञ्चालन हुन्छ’, उनले भने। गत कात्तिक महिनायता त्यहाँका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन्।  
    
गाउँपालिकाका अन्य खोप केन्द्रमा भने दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। नाम्खाका अन्य गाउँमा भने यही चैत १ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप लगाउने कार्य जारी छ। सो अभियान यही चैत ७ गतेसम्म सञ्चालन हुने छ। 

प्रकाशित: Mar 18, 2024| 06:31 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्