काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेको छ। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन्।
भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने दाहालको प्रस्ताव छ। मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रस्ताव छ।
बैठकपछि बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीति तथा सांगठनिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको बताए। उनले आजको बैठकमा गरिएको प्रस्तावमाथि आठ समूह बनाएर छलफल सुरु भएको जानकारी दिए।
‘राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदामाथि छलफल गर्न आठ समूहमा विभाजित नेताहरूले बिहान ११ बजेसम्म सामूहिक छलफल गर्नेछन्। त्यसपछि आइतबार बिहानको बैठकमा सबै समूहबाट छलफलको निष्कर्षका रूपमा रिपोर्ट प्रस्तुत गरिनेछ। त्यसपछि रिपोर्टमाथि स्पष्टीकरण र निष्कर्ष निकालिनेछ’, उनले भने।
‘सामन्तवादका अवशेष र दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरू केपी ओलीले चालेका प्रतिगामी कदमले नेपाली कम्युनिस्ट आन्दोलनलाई ठूलो प्रतिगमन गरेको छ।’
‘सामन्तवादका अवशेष र दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरू केपी ओलीले चालेका प्रतिगामी कदमले नेपाली कम्युनिस्ट आन्दोलनलाई ठूलो प्रतिगमन गरेको छ’, श्रेष्ठले भने, ‘त्यो प्रतिगमनको खतराप्रति सचेत रहनुपर्छ। त्यो खतरा रहदासम्म वामलोकतान्त्रिक एकता कामय राख्नुपर्छ। त्यसका लागि पहिला पार्टी व्यवस्थित र सुदृढीकरण हुन आवश्यक छ।’
उनले पार्टी सुदृढीकरण एवम् समाजवादका लागि पृष्ठभागीय शक्तिका रूपमा जनमसुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनमसुदायसँग जोड्ने माध्यमको भूमिकामा जातीय÷क्षेत्रीय मोर्चा हुने बताए।
दाहालको प्रस्ताव
१. भाद्र मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान
२. असोज १० गते सेल र टोल भेला सम्मेलन
३. असोज २० गते वडा सम्मेलन
४. असोज ३० गते गाउँ पालिका र नगर पालिका सम्मेलन
५. कात्तिक ३० गते जिल्ला सम्मेलन
५. मंसिर १५ गते प्रदेश सम्मेलन
६. पौष ११, १२, १३ गते राष्ट्रिय सम्मेलन