मंगलबार, भदौ ३१, २०८२

दैनिक ११ घण्टा विद्युत् कटौतीले हुम्लाका विद्यार्थी मर्कामा

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

vianetvianet

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी विद्युत् कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन्।

Kumaribank

विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन्। एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेखपढ गर्न समस्या भएको छ। यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ। विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ।

ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन्। ‘दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?‘, खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे।

गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ।

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ। जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापारव्यवसाय पनि प्रभावित बनेको छ।

Metro Mart

कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी  समस्यामा छन्। विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा एक हजार तिर्नुपर्ने अवस्था छ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारूले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्वीकारे। तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ।

हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारूले बताए।

प्रकाशित: Mar 16, 2024| 09:39 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्