काठमाडौं- प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा बनेको पाँच दलीय नयाँ गठबन्धन सरकारले विश्वासको मत प्राप्त गरेको छ।
आजको बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। एक जना सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।
बुधबारको बैठकमा २६८ सांसद सहभागी थिए। २०७९ सालको आम निर्वाचनपछि लगातार प्रचण्ड नेतृत्वको सरकार रहे पनि तेस्रोपटक गठबन्धन र मन्त्रीहरू फेरिएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको पनि यो तेस्रोपटक हो।
प्रचण्ड सरकारलाई समर्थन जनाएकामध्ये नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी, नेपाल बाहेक नागरिक उन्मुक्ति पार्टी छन्। नेपाली (कांग्रेस), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी लगायतले सरकारलाई विश्वासको मत दिएनन्।
प्रतिनिधिस भामा एमालेको ७६, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जसपा नेपालको १२, नेकपा समाजवादीको १०, र नागरिक उन्मुक्ति पार्टीका ४ सिट रहेको छ। प्रतिनिधि सभामा एमालेका सांसदको संख्या ७९ रहेकोमा टोपबहादुर रायमाझी निलम्बित छन् भने सुवास नेम्वाङको निधन भएको छ। सभामुख देवराज घिमिरेसमेत विश्वासको मतमा सहभागी हुँदैनन्।
नेपाली कांग्रेसका ८८ जना सांसद छन्। यीमध्ये टेकबहादुर गुरुङ निलम्बनमा छन्। त्यसैगरी राप्रपाका १४, जनमत पार्टीका ६, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना सांसद छन्।
यो सरकारको नेतृत्व गरेपछि पहिलोपटक २०७९ साल पुस १० गते प्रचण्डले प्रतिनिधि सभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।
दोस्रोपटक गत वर्ष चैत ६ गते संसद्मा २६२ सांसद सहभागी मतदानमा १७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए।
पहिलोपटक विश्वासको मत लिँदा संसदका १२ मध्ये १० दल र सबै स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रचण्डलाई मत दिएका थिएनन्। तल्लो सदनमा ती दलका एक-एक सांसद छन्।
दोस्रोपटक विश्वासको मत लिँदा एमाले र राप्रपाले विश्वासको मत दिएनन् भने नेमकिपाका एक सांसद तटस्थ बसेका थिए।
चुनावअघि नै गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादीबीच प्रधानमन्त्री बन्ने विषयमा कुरा नमिलेपछि पुसमा एमालेसहित अन्य दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। पछि प्रचण्डले फेरि एमालेसँगको सहकार्य तोडेर कांग्रेससहित चुनावअघिको गठबन्धनलाई ब्युँताएका थिए। तर यही फागुनमा पुन: नेपाली कांग्रेससँगको सहकार्य तोड्दै उनले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेका हुन्।