बुधबार, असार १०, २०८३

पात र सिन्का बोकेर कक्षाकोठामा शिक्षक पसेपछि...

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

बलेवा (बागलुङ)- सधैंजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसिन्। न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गरिन्। उनीसँगै अन्य शिक्षिका पनि साथमै थिए।

National life

सधैंजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए। सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे। उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए। बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो।

विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो। सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अवसरमा दुनाटपरी गाँस्न सिकाइएको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले बताए।

शिक्षिकाहरुको बीचमा बसेर पात गाँस्दै गरेकी कक्षा १० मा अध्ययनरत पूजा सापकोटा र कक्षा ९ कि रोशनी जिसीले पूजाआजा र अनुष्ठानमा चाहिने दुनाटपरी गाँस्न सक्ने भएको बताए।

विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान, सीप र सांस्कृतिक पहिचान झल्किने कार्यक्रमले उनीहरुलाई सामाजिक बन्न प्रेरित गराउनुका साथै सकारात्मक सोचको विकास गराउने शिक्षिकाको ठम्याइ छ। संस्कृति, परम्पराको जर्गेना गर्दै सीप सिकाउने उद्देश्यले विद्यालय उमेरका बालबालिकालाई मौलिक कार्यक्रमको आयोजना गरिएको शिक्षिका जुना हमालले बताइन्।

Shivam cement

“विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ। अनुभवी शिक्षिकाले सहजीकरण गर्नुभएको छ। विद्यार्थीहरु सिक्न निकै उत्साहित छन्”, प्रधानाध्यापक अधिकारीले भने, “हरेक घरमा हुने पूजाआजालगायत धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ। अहिलेका नयाँ पुस्तालाई यस्ता ज्ञान सिकाउन सके हाम्रा मौलिक संस्कार र संस्कृति हराउँदै जाने खतरा हुँदैन।”

व्यवहारिक सीप विकासका लागि पहिलो चरणमा दुनाटपरी बनाउन सिकाएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए। कपासका बत्ती कात्न, चोया काढ्न, बाँसबाट तयार हुने सामग्री निर्माण गर्न सिकाउने र क्रमशः प्रतियोगिताका रुपमा सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: Mar 13, 2024| 14:02 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्