बिहीबार, चैत २६, २०८२

कतै परिवारवाद, कतै पति-पत्नीको झगडा

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- नेपाली राजनीतिमा परिवारवाद नौलो कुरा होइन। पार्टी जुनसुकै होस्, पद र पावरमा पुगेपछि आफन्त र आसेपासेलाई ठाउँ दिन कोही पछि परेका छैनन्। यो मामलामा माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा अगाडि आउँछन्।

National life

उनको परिवारका सबै सदस्य अहिले पनि लाभको पदमा छन्। भर्खरैमात्र प्रचण्डका भाइ नारायण दाहालले राष्ट्रिय सभा अध्यक्षको पद हात पारे। प्रचण्डका भाइ भएका कारण उनले यो पद पाउनु हुँदैन भन्ने होइन, तर पार्टीमा अरु पनि योग्य हुँदाहुँदै किन उनैलाई अवसर दिइयो भन्ने प्रश्न पार्टीभित्रै उठिरहेको छ।

माओवादीको पदाधिकारी बैठकमा अधिकांश नेताले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ६ वर्षे कार्यकालबाट बनाउनुपर्नेमा जोड दिएका थिए। तर उम्मेदवार बन्नका लागि काबिल, अनुभवी र पुराना नेता प्रशस्त हुँदाहुँदै बैठकले नारायण दाहाललाई अघि सार्ने निर्णय गर्‍यो। योगदानको हिसाबले राम्रै भए पनि अध्यक्षमाथि भाइ मोहको ट्याग लाग्ने र बाहिर राम्रो सन्देश नजाने भन्दै अरुलाई नै अघि सार्न नेताहरुले सुझाएका थिए। ६ वर्ष कार्यकाल, महिला र हालकी उपाध्यक्ष पनि भएकाले उर्मिला अर्याललाई अवसर दिनुपर्ने मत पनि धेरैको थियो।

प्रचण्डको परिवार मोह जताततै देखिन्छ। स्वकीय सचिव रहेकी प्रचण्डकी कान्छी छोरी गंगा दाहाल देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएकी देखिन्छिन्। खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा उनी प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना भएको थियो।

माइली छोरी रेणु दाहाल हाल दोस्रो कार्यकाल चितवन महानगरपालिकाकी मेयर छिन्। पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी थिइन्। उनलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

kumari

गंगा दाहालका पति अर्थात् प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशी प्रदेशमा यसै वर्ष दुई पटक मन्त्री बने। एक महिनाको अन्तरालमै उनी कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्री बने। दोहोर्‍याएर उनैलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीबीच समेत प्रचण्ड आफ्नो निर्णयमा पछि हटेनन्।

यसअघि प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्य बनाएका थिए। उनै नारायण अहिले अध्यक्ष बनाइएका हुन्।

छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले कीर्तिमान नै खडा गरेका छन्।

एकातिर परिवारलाई पदमा पुर्‍याउन जे पनि गर्ने प्रचण्ड छन् भने यहीँ पदका लागि पति-पत्नी झगडा गरिरहेका पनि छन्। प्रसंग हो रेशम चौधरी र रञ्जिता श्रेष्ठको। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ।

सुदूरपश्चिम सरकारमार्फत् सतहमा आएको विवाद प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने सन्दर्भमा झन् उत्कर्षमा पुगेको हो। प्रधानमन्त्री प्रचण्डले आज बुधबार विश्वासको मत लिँदैछन्। नाउपा अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छिन्।

‘फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।

तर, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ति निकालेका छन्। मंगलबार नाउपाको संस्थापक केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

प्रदेशको हकमा भने विभिन्न दलसँग वार्ता गरी सहकार्य गर्न कार्यदल बनाइएको छ। कार्यदलका संयोजक पण्डित तोकिएका छन्। ‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल  सहभागी नहुन, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने र प्रदेश सकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।

यता संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै पत्नी रञ्जितालाई सम्झाउन नसक्नु आफ्नो विवशता भएको बताएका छन्। ‘आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौं,आफ्नो पार्टी निर्माणमा जुटौं,’ उनले भनेका छन्।

उनले यो विषय घर झगडा नभएको बताएका छन्। ‘घर झगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो। आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस। यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ? त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं,’ उनले भनेका छन्।

संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस–कम्युनिस्टजस्ता परम्परागत पार्टी नभएको बताएका छन्। भौगोलिक–सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी भएको उनको तर्क छ। ‘त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरूप चलौं। कुरो रह्यो बूढाबूढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टसको मस भइनन्। उनको भनाइ छ– प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न,’ चौधरीले भनेका छन्।

टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर मुद्दामा सहानुभूति देखाउँदा देखाउँदै पनि आफू रिहा हुन नसकेको सन्दर्भ पनि उनले उल्लेख गरेका छन्।

यही फागुन २४ गते निर्वाचन आयोगले नाउपाको पहिलो महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरेको थियो। पहिलो महाधिवेशनबाट चौधरी अध्यक्ष निर्वाचित भएका थिए। उनी हत्या आरोपमा सजाय काटेकाले उनी पार्टीको अध्यक्ष बन्न नसक्ने भन्दै उजुरी परेको थियो। त्यसबारे आयोगले चौधरीसँग जवाफ मागेको थियो। चौधरीले निर्वाचन आयोगलाई लिखित जवाफ पठाएका थिए।

तर, निर्वाचन आयोगले चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गर्दै उनी संयोजक भएर गरेको महाधिवेशनलाई पनि वैधता दिएन। नाउपामा अहिले २१ जना केन्द्रीय सदस्य छन् भने संघीय संसद्‍मा ४ जना सांसद छन्।

प्रकाशित: Mar 13, 2024| 11:32 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्