काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न निर्देशन दिएका छन्।
आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए। उनले भने, 'हाम्रा मन्त्रीहरूले पनि अपारदर्शी र भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्न हुँदैन। अरू कसैले गर्छ भने पनि हामी सहँदैनौं। त्यस कारण भ्रष्टाचार मुक्त देश बनाउनुपर्छ। सुशासन युक्त देश बनाउनुपर्छ। स्वच्छता र पारदर्शी हुनुपर्छ। हामीले अन्धाधुन्ध हिँडेर दिन काट्ने मात्रै होइन, हरेक पल उपयोगी ढंगले प्रयोग गर्नुपर्छ।'
ओलीले सरकार परिवर्तन हुनेबित्तिकै मिटरब्याज पीडितहरूको सुनुवाइ भएको बताए। ‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरू उनलाई दुव्यर्वहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। सरकार परिवर्तन हुनेबित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’ उनले भने।
उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए। ‘दुनियाँले देख्ने–बुझ्ने गरेर एमालेले अर्थ मन्त्रालयको नेतृत्व लिन्छ भन्दा सेयर बजार दुईपल्ट, तीनपल्ट, एकै दिनमा ब्रेक लगाउनुपर्यो। भोलिपल्ट एमालेले नलिने भने भने स्वाट्टै झरेर माइनसमा जाने अवस्था देखियो,’ उनले भने।
ओलीले नयाँ सत्ता समीकरण सरकारमा जाने हतारोले नबनेको बताए। उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए। 'गठबन्धनमा हुनेहरूको उन्माद थियो। यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो। खरानीको डल्लो फुट्नुपर्थ्यो,' उनले भने।
ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए। चीनले गराएको भनेर टाढा नपुर्याउन उनले आग्रह गरे। 'यो परिवर्तन हामीले गरेको, गराएको हो। यति जस त हामीलाई दिनुस्। कहाँ चीन पुर्याएको यति सानो कामलाई पनि। चीनले बनाइदियो रे, चीन आयो रे, चीन घुस्यो रे ! यस्ता कुरा नगर्नुस्। यत्रो मिहिनेत गरेर बनाइएको छ। यति जस त हामीलाई दिए हुन्छ नि ! कहाँ अर्कालाई दिएको हो ? उनले भने।