काठमाडौं- राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो।
नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए।
दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो। कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।