बिहीबार, चैत २६, २०८२

लगानीका लागि अमेरिकीलाई अर्थमन्त्रीको आग्रह

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी बैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थ मन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

National life

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानूनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए। 'अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो', पुनले भने, 'तपाईँमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु।'

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए। लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा ठूलो सङ्ख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए। उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यसअवसरमा राजदूत थम्पसनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे। 'संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ', राजदूत थम्प्सनले भने, 'त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ।'

kumari

थम्प्सनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे। भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाए।

आजको भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राखेका छन्। त्यसको जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धताका लागि थम्प्सनलाई धन्यवाद ज्ञापन गरे।

एमसीसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्री पुनले बताए।

प्रकाशित: Mar 10, 2024| 17:31 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्