नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्नेबारेमा कल्पना नगर्ने बताएका छन् ।
आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको कार्यक्रममा उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए। नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि उनले बताए। केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको दाबी उनले गरे।
थापाले भने, 'हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौं। यसको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला। एउटा कुरा मलाई खुसी लागेको छ- यो चुनावभन्दा अघि पार्टीहरू मिलेर, चुनावमा जाने। खास त्यो पार्टीहरू मिल्ने नै होइन, नेताहरू मिल्ने हो। नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो। थप खोक्रो बनाउँथ्यो। अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्नेबारेमा कल्पनै गर्दैन। किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाब किताब हुन्छ।'
थापाले थपे, ‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ। अहिलेको प्रधानमन्त्रीको कुर्सी हल्लिएको छ। कतिखेर म लड्ने वा धकेल्ने डरले। डराएको प्रधानमन्त्री कसरी काम गर्न सक्छ?’
महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए ।