त्रिशूली नदीमा बुधबार बिहान यात्रुवाहक बस खस्दा मृत्यु भएका सात जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रूवी श्रेष्ठ, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रूपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अली र सराजुद्दीन मुसलमान छन्।
रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३८ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्। उनीहरूको खोजी जारी छ।
घाइतेमध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।